समाचार

अर्घाखाँची बस दूर्घटनाको कारण तीव्र गति

अर्घाखाँची । अर्घाखाँचीमा ११ मंसिरमा भएको बस दूर्घटनाको कारण तीव्रगति भएको छानविन समितिले बताएको छ ।

१९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएपछि स्थानीय तहमा छानबिन समिति गठन भएको थियो ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही आउँदै गरेको लु२ख २१४८ नंको बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटनामा परेको थियो ।

दूर्घटनामा १९ जनाले ज्यान गुमाउनु परेको थियो । दुर्घटनापछि जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीले सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासे संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

घटनास्थलको स्केच, घटनास्थलको प्रकृति मुचुल्का, गाडीको मेकानिकल जाँच प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको बयानलगायत प्रमाणका आधारमा समितिले प्रतिवेदन तयार पारेको छ ।

स्थानीय प्रत्यक्षदर्शीको वयानलगायतले समेत बस तीव्र गतिमा रहेको र चालकले नियन्त्रण गर्न नसक्दा दूर्घटनामा परेको निष्कर्ष निकालेको छ ।

पछिल्लो समय सडक दूर्घटनामा डरलाग्दो रुप लिएको छ । पछिल्लो ५ महिनामा देशभर भएका सडक दूर्घटनामा परी १ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।