फिचर

जनस्तरमा पुग्न नसकेको भ्रमण वर्ष

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन अब मात्र ९ दिन बाँकि छ । सरकारी तवरबाट यसको धुमधाम तयारी भइरहेको बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको व्यस्तता बढेको छ । उनी शुक्रबार मात्र त्रिभुवन विमानस्थलको अवलोकनमा पुगे ।

त्यहा भइरहेको तयारीका बारे जानकारी दिए । तर, भ्रमण वर्ष जनस्तरसम्म आइपुगेको छैन । किनकी सरकारले अहिलेसम्म भ्रमण वर्षलाई लक्षित गर्दै जनतामा प्रभाव पार्ने खालका कुनै गतिविधि नै गर्न सकेको छैन ।

किनकी नेपालले यसअघि दुई वटा भ्रमण वर्ष सफल रुपमा मनाएको थियो । त्यसबेला जनस्तरमा प्रभाव पर्ने केही जनहितका काम भएका थिए ।

सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाउँदा नेपालले काठमाडौंको मूख्य पर्यटकीय क्षेत्रका घरहरु आफनै खर्चमा रंग्याइदिएको थियो ।

खासगरी बसन्तपुर, ठमेललगायतका घरमा एकै प्रकारको रंगले घर सजाएपछि काठमाडौं शहर चिटिक्क परेको थियो ।

जनतामा त्यसले अपनत्व सिर्जना गरेको थियो । त्यही बेला देखि नै नेपालमा रंगले व्यवसायिक रुपमा लिएको मानिन्छ ।

उक्त भ्रमण वर्षले गाउँबस्ती र शहर सफा राख्नुपर्छ भन्ने सन्देशसमेत प्रभाव गर्न सफल भएको थियो । सन् २०११ मा सरकारले होमस्टे अभियान संचालन गर्यो ।

घरमा आएका पाहुनालाई सेवा दिने र त्यसवापत पैसा लिने । यो अभियान यति सफल भयो की, अहिले पनि ग्रामिण भेगको आम्दानीको मूख्य स्रोतका रुपमा होमस्ट फस्टाइरहेको छ ।

तर, आगामी भ्रमण वर्षका लागि जनताले अपनत्व अनुभव गर्ने गरी अहिलेसम्म एउटा पनि निर्णय आइसकेको छैन ।

जसले गर्दा जनस्तरमा भने उत्साहभन्दा बढी अलमल जारी छ । किनकी काठमाडौंको सडकको अव्यवस्था जारी छ । हरेक दिन हुने सडक दूर्घटनाका घटनाले मानिस त्रसित छन् ।

यूरोपेली यूनियनको कालोसूची लम्बिएको छ । यी सबै हिसावले हेर्दा भ्रमण वर्ष सफल बनाउनु सरकारका लागि फलामका च्यूरा चपाएसरह हुने निश्चित छ ।