डायस्पोरा

न्यूह्यामसरमा तमु ल्होछारको भव्य तयारी, सांस्कृतिक कार्यक्रमहरु साथ मनाइने

प्रभात भट्टराई/ न्यूह्यामसर

अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरमा बसोबास गर्ने गुरुङ समुदायले आउँदो तमु ल्होछारलाई भव्यताका साथ मनाउने तयारी गरेका छन् । राज्यको मुख्य सहरी केन्द्र मेनेचेष्टरमा आउँदो डिसेम्बर २८ मा विविध कार्यक्रमका साथ तमु ल्होछार मनाइन लागेको हो ।

कार्यक्रममा चर्चित नेपाली कलाकारहरु पविता परियार, रोशन गुरुङ, तिलक श्रेष्ठ लगायतको प्रस्तुती रहने गुरुङ समाज न्यूह्यामसरका महासचिव माधव गुरुङले जानकारी दिए । त्यसबाहेक दर्जन बढि स्थानीय कलाकारले तमु संस्कृती झल्किने प्रस्तुतीहरुका साथ गायन एवं नृत्य प्रदर्शन गर्ने उनले बताए ।

कार्यक्रममा न्यूह्यामसर मात्र नभइ छिमेकी राज्यमा बसोबास गर्ने नेपालीहरुको पनि सहभागिता रहनेछ । परदेशमा आफ्नो संस्कृति जोगाउन समाजले बर्षेनी ल्होछारलाई भव्यताका साथ मनाउँदै आएको अध्यक्ष छत्रकुमारी गुरुङले बताइन् । ‘परदेशी भूमीमा आफ्नो मौलिक संस्कृति जगेर्ना गर्ने चुनौती त छँदैछ, उनले भनिन्- साथै नयाँ पुस्तालाई आफ्नो सभ्यता र पहिचान सिकाउन पनि बर्षेनी ल्होछारलाई भव्यताका साथ सामुहिक रुपले मनाउँदै आएका छौँ ।’