समाचार

विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार

दैलेख । नेकपा विप्लव समूहले अपहरण गरेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका धिरबहादुर शाहीलाई सशस्त्र प्रहरीले कालीकोटबाट उद्दार गरेको छ । उनको शकुशल उद्दार भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार राति घरमै सुतिरहेको समयमा अज्ञात समूहबाट उनको अपहरण भएको थियो ।

प्रहरीका अनुसार राती आएको १०\१२ जनाको समूहले सोधपुछ गर्नुछ भन्दै शाहीलाई लैजान खोजेपछि श्रीमतीले आफूलाई पनि लैजान आग्रह गरेपछि दुबैजनालाई लगिएको थियो ।

यस घटनाको नेकपा विप्लव समूहले जिम्मेवारी लिइसकेको छ । धिरबहादुर र उनकी श्रीमतीलाई करिव दुई घन्टा पैदल हिँडाएपछि श्रीमतीलाई छाडेको थियो ।

उनले छुटेपछि गाँऊ पालिका अन्तर्गतको वडा अध्यक्ष नर्तमबहादुर बुढालाई खबर गरेकी थिइन् । बुढाले प्रहरी र स्थानीय प्रशासनलाई जानकारी गराएपछि प्रहरी उद्दारमा जुटेको थियो ।

कालिकोट प्रहरीका अनुसार श्रीमतीको जानकारीका आधारमा प्रहरीले खोजी थालेको थियो । कालिकोट प्रहरीले शसस्त्र प्रहरीका एक टोली खटाएरै खोजी थालेको थियो ।

खोज गर्ने क्रममा एक स्थानीयले दिएको सुराकीका आधारमा उनलाई राखेको घर पत्ता लागेको थियो ।

त्यसपछि सशस्त्र प्रहरीले घर घेरा हाली हवाई फायरिङ गरेछि अध्यक्षलाई छाडेर समूहका व्यक्ति भागेका थिए ।

कालिकोट प्रहरीका अनुसार त्यसपछि प्रहरीले अध्यक्ष शाहीलाई आफ्नो साथमा ल्याएको छ । विप्लव समूहले आइतबार नै विज्ञप्ती जारी गर्दै शाहीको अपहरण आफूहरुले गरेको उल्लेख गरेको छ ।

विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविका नामबाट विज्ञप्ति जारी गर्दै गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिशन खाएको र सीआईडी गरेको भन्दै पार्टीले छानविनका लागि नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।