फिचर

निजगढ बनाउनुको विकल्प छैन : पर्यटन मन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालका पर्यटनका माध्यमबाट अर्थतन्त्रको विकास गर्ने हो भने निजगढ विमानस्थलको विकल्प नभएको बताएका छन् ।

सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत विमानस्थल निर्माणको प्रक्रिया रोक्न आदेश दिएको भोलीपल्ट सोमबार भट्टराईले भाग लिएका अधिकांश सार्वजनिक कार्यक्रममा निजगढ विमानस्थलको महत्वबारे प्रकाश पारेका छन् ।

सोमबार मन्त्री भट्टराईले बैंक तथा वित्तीय संस्थाका प्रमुख, खेलकुद तथा यससँग सम्बन्धित संघ संस्थाका पदाधिकारी र स्काउट लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिसँग भ्रमण वर्षको तयारीका सिलसिलामा भेटघाट गरेका छन् ।

त्यस अवसरमा मन्त्री भट्टराईले नेपालका लागि निजगढ केवल पर्यटन नभई अर्थतन्त्रकै मेरुदण्ड हुने बताएका हुन् ।

संसारमा ठूल्ठूला विमानस्थल की रुख काटेर वा समुन्द्र पुरेर बनाइएको भन्दै नेपाल अब विकासका नाममा सधै पिछडिएर बस्न नसक्ने बताएका हुन् ।

उनले टर्कीले २४ लाख रुख काटेर विमानस्थल बनाएको उदाहरण दिँदै नेपाल अझै हाँगामा अड्किएको उल्लेख गरे ।

आइतबार मात्र सर्वोच्च अदालतले निजगढ विमानस्थलमा रुख कटानको काम अगाडी नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

रुख काट्दा वातावरणमा असर पुग्ने भन्दै वातावरणविद्हरु यसको विरोधमा उत्रिएका छन् ।