स्वास्थ्य

तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

रौतहट । शितलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । असावधानीका कारण मानिसको ज्यानै जाने गरी हुने चिसोले रौतहटमा मात्र चारजनाको मृत्यु भएको छ ।

१ पुसयता रौतहटमा अधिक चिसो र शीतलहर चलिरहेको छ । चिसोले कठ्याँग्रिएर ४ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएका छन् ।

दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको चिसोका कारण मृत्यु भएको हो ।

गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको समेत चिसोकै कारण मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला अस्पतालमा पोष्टर्माटम गर्ने उपकरण नभएका कारण भने चिसोका कारण भएको मृत्युको प्रमाणपत्र भने जिल्लामा उपलब्ध हुँदैन ।

जिल्ला प्रशासन कार्यालयका अनुसार चिसोबाट बच्न अति विपन्न नागरिकलाई न्यायो कपडा वितरण गर्ने काम भइरहेको छ ।

चिसोमा घर बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न सचेतनामुलक कार्यक्रम आयोजनामा समेत तिब्रता दिइएको छ । अधिक चिसो बढेपछि जिल्लाका तीनवटा नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय बन्द गरेका छन् । गरुडा, राजदेवी र वृन्दावन नगरपालिकामा आगामी शुक्रबारसम्म विद्यालय बन्द भएका छन् ।