फिचर

मलेसियामा बढेको तलव १ जनवरीबाट लागु, नेपाली पनि लाभान्वित

क्वालालाम्पुर । मलेसिया सरकारले आगामी १ जनवरीबाट श्रमिकको न्यनतम पारिश्रमिक वृद्धि गर्दैछ । यसबाट १ लाखभन्दा माथिको संख्यामा रहेका नेपाली कामदार समेत लाभान्वित हुने भएका हुन् ।

मलेसिया नेपाली कामदारको मूख्य गन्तब्य स्थलमध्ये एक हो । मलेसिया सरकारले न्यूनतम पारिश्रमिक बढाउने नीतिले स्वदेशी तथा विदेशी दुबै श्रमिकहरुको पारिश्रमिक बढ्न लागेको हो ।

मलेसियाली मानव संसाधन मन्त्रालयका अनुसार अब श्रमिकको न्यूनतम पारिश्रमिक १२ सय रिंगेट रहने भएको छ । यो नेपाली रुपैयाँमा करीव ३३ हजार हुन्छ ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक ११ सय रिंगेट थियो । मलेसियामा प्रारम्भमा यो पारिश्रमिक क्यालालम्पुर, पेटालिङ, पेनाङ, पुत्रजयालगायत ५७ वटा सहरमा लागु हुने छ ।

करीव १ वर्ष रोकिएको मलेसिया रोजगारी नेपालीका लागि खुलेको तीन महिना मात्र भएको छ । लगत्तै पारिश्रमिक समेत बढ्ने भएपछि मलेसियामा नेपालीका लागि रोजगारी अझ आकर्षक बन्ने भएको हो ।