समाचार

छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट

गुगल फाईल फोटो

प्रभात भट्टराई/अमेरिका
अमेरिका लगायत क्रिश्चियन बहुल पश्चिमा मुलुकहरुमा चाडको माहोल छ । क्रिसमस मनाउन राज्य चलाउने नेता, विजनेश दुनियाँका बादशाह अर्बपति देखि आम नागरिकसम्म ‘छुट्टि’को मुडमा छन् । गाउँ शहर सबैतिरका घर झिलिमिली सजाइएको छ । ठाउँ ठाउँमा क्रिसमस ट्रि ठड्याइएका छन् । कुनै चोकमा शान्ताक्लर्कहरु उभिएर चकलेट बाँड्दैछन् । हरेक स्टोरमा कामगर्नेहरु क्रिसमसको प्रतिनिधी मानिने रातो टोपी लगाएर उभिएका छन् ।
क्रिसमस मनाउनेहरुकै सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । ट्रम्प अहिले छुट्टिमा फ्लोरिडा स्थित रिसोर्टमा पुगेका छन् । तर, आम अमेरिकी एवं क्रिश्चियन जस्तो उनी छुट्टिको मुडमा भने छैनन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट हालै महाभियोग खेपेका ट्रम्प बेचैन छन् । त्यसैले परिवार र साथीसँगीका माझ चाड मनाउन वासिंटनबाट हजार माइल टाढाको फ्लोरिडा पुगेपनि बिन्दास हुन सकेका छैनन् । उनी छिन छिनमा ट्विट गर्छन् । जुनसुकै प्रसंगमा ट्विट गरेको घुमाइ फिराइ महाभियोगमै लगेर जोड्छन् ।
कहिले सिनेटले महाभियोग माथि थप अनुसन्धान गरेमा रिपब्लिकन र डेमोक्र्याटबीच फरक नहुने बताउँछन् त कहिले अर्थतन्त्रका सारा सूचक उत्साहजनक रहेको बेला कसैले अमेरिकी राष्ट्रपतिलाई हटाउन नसक्ने भन्दै आफ्नो बचाउ गर्छन् । सोमबार दिनभरमा उनले दुई दर्जन बढि ट्विट एवं रिट्विट गरेका छन् । जसमा अधिकांश महाभियोगसँगै जोडिएका छन् । सभामुख न्यान्सी पेलोसी एवं डेमोक्र्याटहरुलाई गाली गर्दै केही ट्विट आफैँ लेखेका छन् ।
ट्रम्पले हाउसमा महाभियोग चल्दै गर्दा आफुले कुनै मतलव नगरेको बयान दिँदै आएका थिए । तर, जब जब महाभियोगको मिति नजिकियो, उनको बेचैनीको सियो उकालो लाग्यो । त्यसबेला पनि उनले मतलव नभएको दावी गर्न भने छोडेनन् । तर, महाभियोगको प्रतिरोध गर्दै ट्विटकै बर्षा गर्न थाले । हाउसमा महाभियोगबारे अन्तिम बहस चल्दै गर्दा उनले तीन दिनमा २०० हाराहारी ट्विट गरे । संसदमा उनको महाभियोग माथि मतदान हुँदै गर्दा उनी मिचिगनमा चुनावी सभा गर्दै थिए । त्यहाँ उनले अहिलेसम्मकै लामो चुनावी भाषण दिए– दुई घण्टा बढि । अधिकांश समय डेमोक्र्याट र महाभियोगकै बिरुद्धमा बोलेका थिए । यी सबै भइ सकेपछि पनि उनको सार भने एउटै हुन्छ– मैले यो महाभियोगलाई मतलव गरेको छैन ।
जस्तो सुकै अवस्था होस्, ट्रम्प आफ्नो गल्ती स्विकार्दैनन् । कमजोरी लुकाएर र भ्रम छरेरै जित्न सकिन्छ भन्ने उनको सधैंको मान्यता हो । त्यसैले महाभियोगको डर डेमोक्र्याट माथि गाली गर्दै लुकाउँदै आएका छन् । सँगै कतै रिपब्लिकन सिनेटरले थप प्रमाण खोजेर अफ्ठ्यारोमा पार्ने हुन् कि भन्ने पिर पनि उनी भित्र छ । त्यसैले कहिले महाभियोग आफुमाथि नभइ आफ्ना सारा समर्थक र रिपब्लिकन पार्टीप्रति लगाइएको दावी गर्छन् भने कहिले महाभियोग माथि थप अनुसन्धान गरे डेमोक्र्याट र रिपब्लिकनमा फरक नहुने भन्दै आफ्ना सिनेटरहरुलाई अग्रिम चेतावनी दिन्छन् । ट्रम्पको रिपब्लिकन पार्टीभित्र अचाक्ली बलियो होड छ । अहिलेका प्रायः सबै सर्भेक्षणहरुले रिपब्लिकन पार्टी भित्र उनको ‘एप्रुभल रेटिङ’ ९० प्रतिशत हाराहारी देखाएका छन् । तर, यति हुँदा पनि ट्रम्पको औषत एप्रुभल रेटिङले अहिलेसम्म ५० प्रतिशत छुन सकेको छैन । अर्थात डेमोक्र्याट भित्र ट्रम्प अत्यधिक अलोकप्रिय छन् । बहुमत स्वतन्त्र अमेरिकी पनि उनको समर्थनमा छैनन् । सोही कारण रिपब्लिकन पार्टी भित्रको आफ्नो पकड कायम राख्न उनी जे बोल्न पनि तयार छन् जसो गर्न पनि तयार छन् ।
रिपब्लिकनमाझको यही लोकप्रियताले नै आफुलाई अर्को बर्ष चुनाव जिताउला भन्ने उनको आशा गरेको छ । डेमोक्र्याटबाट टिकट पाउने व्यक्तिलाई सकेसम्म विवादमा धकेल्दिने ताकी उनलाई भोट हाल्न स्वतन्त्र मतदाताहरुलाई उत्साह नहोस् र रिपब्लिकन अहिलेजस्तै एकजुट भएर बुथसम्म पुगे आफुले चुनाव जित्ने ट्रम्पको आँकलन छ । सोही ध्येयले उनले डेमोक्र्याटबाट सम्भावित प्रत्याशीको अग्रसूचीमा रहेका जो बाइडेनलाई विवादको भूमरीमा धकेल्न युक्रेन काण्ड गराएका थिए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग बाइडेन माथि अनुसन्धानको माग राख्दै युक्रेनका लागि अमेरिकी संसदले पारित गरेको झन्डै ४०० मिलियन डलरको सैन्य सहायत रोकेको तथ्य बाहिरिएसँगै उनले महाभियोग सामना गर्नु पर्यो ।
तर, यो घटनाबाट शिक्षा लिने छनक ट्रम्पले दिएका छैनन् । बिपक्षिलाई विवादमा पार्नुनै जितको मुख्य सुत्र हो भन्ने उनको मान्यता नबदलिने विश्लेषकहरुको राय छ । किनभने आम अमेरिकीबीच लोकप्रिय हुनसक्ने उनको प्रकृति नै होइन । अहिले अमेरिकी अर्थतन्त्रका अधिकांश सूचकले रेकर्ड बनाएका छन् । जनतामा सिधा असर हुने बेरोजगारी दर ५० बर्षको न्यून विन्दुमा झरेको छ भने उपभोक्ताको आत्मविश्वास उस्तै उच्च छ । त्यती हुँदा पनि राष्ट्रपतिको एप्रुभल रेटिङ ‘अण्डरवाटर’ हुनु अर्को रेकर्ड रहेको विश्लेषकहरुको राय छ ।
सन् १९९८ मा विल क्लिन्टन माथि महाभियोग चल्दा अमेरिकी अर्थतन्त्र उस्तै सन्तोषजनक अवस्थामा थियो । त्यसैले महाभियोग सुरु भएसँगै क्लिन्टनको एप्रुभल रेटिङले ६५ प्रतिशत नाघेको थियो । तर, त्यो सौभाग्य र क्षमता ट्रम्पसँग छैन । अर्कोतिर उनलाई जसरी पनि २०२० को चुनाव जित्नुछ । सिनेटमा आफुलाई पदमुक्त गर्ने गरि दुई तिहाई बहुमत पुग्दैन भन्नेमा त उनी ढुक्क नै छन् तर कथंकदाचित आफ्ना हर हर्कतसँग सहमत नहुने रिपब्लिकन सिनेटरहरुले नै थप प्रमाण र अनुसन्धानका लागि दबाब देलान् कि भन्ने डर भने उनको मनमा नराम्रोसँग गढेको छ । किनभने हाउसमा अनुसन्धान हुन्जेल धेरैजसो प्रमाण लुकाउन रिपब्लिकनहरुले एकमत भएर साथ दिए । सिनेटमा त्यो अवस्था नरहे ह्वाइट हाउसले बलपुर्वक थामि रहेको पर्दा उघारिन सक्छ । ट्रम्पको बेचैनीको मुख्य गुह्य यसैमा अड्किएको राजनीतिक पण्डितहरुको तर्क छ ।