समाचार

समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा

काठमाडौं । डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादवको पार्टी समाजवादी नेपालले सरकार छाडेको छ । संविधान संशोधन प्रस्तावलाई मन्त्रिपरिषदमा पेश गर्न नपाएपछि समाजवादीले सरकार छाडेको हो ।

सोमबारको बैठकमा प्रधानमन्त्रीले कानून मन्त्री यादवद्धारा प्रस्तुत गर्न लागेको संशोधन प्रस्तावलाई ठाडो आदेशमा रोकेका थिए ।

उनले रोकेको भोलीपल्टै पार्टी सरकार छाड्ने निर्णयमा पुगेको हो । मंगलबार उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले पदबाट राजीनामा दिए ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुई बुँदे सहमतिबाट पछि हटेको उल्लेख छ ।

सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको निष्कर्षमा उक्त पार्टी पुगेको हो ।

सोमबारको बैठकमा यादवले संविधान संशोधनको प्रस्ताव टेवल गर्न खोज्दा प्रधानमन्त्रीले त्यसलाई अगाडी नै बढाउन दिएका थिएनन् ।

संशोधन प्रस्ताव नै अगाडी बढ्न नपाएपछि पार्टीले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय लिएको हो ।