बिचार

ॐ बुझ्नलाई ध्यानमा डुब्नु पर्छ

विनोद रोका, न्युर्योक

ॐ को गहिराई अनन्त रहेछ । ब्रमाण्ड जत्तिकै गहन । ॐ को चेतनामा अडिग रहन नसकेको मेरो मनको अवस्था छ । ॐ को अन्तस्करण पहिल्याउने यात्रामै छु । यस्तो मन लिएर बाँचेको मान्छेलाई विश्व सन्देशका योगेश भाईले ॐ को बारेमा एउटा लेख लेख्न आग्रह गरे । मेरो बानी कसैलाई टार्न वा नाई भन्न नसक्ने छ । त्यसैले हुदैन भन्न पनि सकिन । मैले ॐ का बारेमा शास्त्रमा लेखेको वा कसैको प्रवचनमा भनेको आधारमा लेखें भने त्यस्ले कसैलाई छुँदैन किनकि त्यहाँ प्राण हुदैन । ॐ को शाब्दिक व्याख्या मात्र गरेर खासै महत्व हुँदैन । मुख्य कुरा ॐ को अनुभुती हुनुपर्छ । जुन अध्यात्म जस्तै अनन्त छ । स्वामी विवेकानन्दले आत्मबोधका बारेमा सन १९०० तिर क्यालिफोर्नियमा दिएको प्रवचनमा भन्नु भएको छ; “बोलेको कुराको प्रभाव वक्ताको व्यक्तित्वमा तीन भाग र कुरामा एक भाग पर्दछ । त्यसैले कुनै तत्वज्ञानी साधनारत वक्ताले बोलेको थोरै कुराले पनि श्रोता वा पाठकको हृदय परिवर्तन गरिदिन्छ । अनि साधना रहित वक्ताले बोलेको लम्बेतानको त्यही कुरा श्रोता वा पाठकले बुझ्दैन । र उल्टो परिणाम निस्कन्छ ।

तत्वज्ञानी र ध्यानीहरु बोल्दैनन् । मौन बस्छन् । ध्यानमा रहन्छन् । आफु र अरुको लागि आध्यात्मिक औरा उत्पादन गर्छन र परिवेशमा छोड्छन् । जुन औराले सत्कर्म गर्नेहरुलाई सघाई रहेको हुन्छ। बोल्नु पर्यो भने चाँहिदो मात्रामा थोरै बोल्छन् । जुन बोलीले श्रोताको जिज्ञासा मेटिन्छ। प्यासीले मरुभुमीमा शुद्धपानी पाएर आफनो प्यास मेटाए झैं । श्रोता आध्यात्मिक रतिक्रियाको चैतन्यरुपी आनन्दले तृप्त हुन्छ। श्रोतामा आध्यात्मिक गर्भाधान हुन्छ । र श्रोताहरु आध्यात्मिक साधनाको पथमा हिडछन् । अनि अरुको ऊपकार गर्नु धर्म र अरुको अपकार गर्नु पाप हो भन्ने सनातन सास्वत मान्यतालाई जिवनको मार्ग दर्शन बनाऊन सक्दछन् ” ।

यसै मेसोमा मैले ९ बर्षीय बालज्ञानी गुरु आदित्यलाई आजको युगमा पाएको छु । जो बोल्नु हुन्न । स्कुल जानु भएको छैन । ध्यानमै रम्नु हुन्छ। ऊहाँ कलि युगमा अष्टाबक्रको अवतार जस्तो लाग्छ मलाई । आवश्यक पर्दा देब्रेहातले अरुको सहारा लिएर लेख्नु हुन्छ – अमृतबाणीहरु । बिभिन्न भाषा बोल्ने व्यक्तिलाई त्यही भाषामा जवाफ दिनुहुन्छ । अनि भन्नुहुन्छ “कुबिचारको यमराज नै ध्यान हो”। एक पलका लागि मन बाँधि हेर, तिम्रा लागि पस्केका मेरा हर भावले तिमीलाई साधक बनाऊने छ । मेरो भावसँग तिम्रो भावलाई अन्तरंग बनाऊनु छ भने तिमी भित्र साधनाको विद्युतीय धारा प्रवाहित हुनै पर्दछ ।

बालगुरुका सयौं दिव्य बचनहरु मध्येका यी बचनहरु उहाँद्वारा लिखित “कलियुगको आदित्य ज्योतिपथ” नामक पुस्तकमा ऊल्लेखित छन् । २०६७ साल श्रावण ७ गते झापा तोपगाछी निवासी शेषराज दाहाल र ईश्वरा गुरागाई दाहालको कोखबाट २०७१ असार २५ मा जन्मनु भएका गुरु आदित्यमा – मे ९, २०१४ का दिन ज्ञान अवतरित भयो, जुन चौथौं बर्षबाट पाचौंमा प्रवेश गर्ने दिन थियो । उहाँका भनाईहरुले मेरो हृदयलाई तरंगित बनाएका छन् । तर मेरो बुद्धिले त्यो अनुभवलाई बुझेर व्यक्त गर्न सकिरहेको छैन । त्यसैले म निरन्तर ध्यानको माध्यमले यी ब्रम्ह बाक्यहरुको अनुभव गर्ने प्रयास गरिरहेको छु। अझै पनि गुरुको भावसँग लयबद्ध भएर मेरो भाव मिसिन सकिरहेको छैन ।    

वेदमूर्ति तपोनिष्ठ पं. श्रीराम शर्मा आचार्यले तीन बर्षको मौनब्रत पछि ब्रम्हलीन हुनु भन्दा केही अगाडी दिनु भएको प्रवचनमा आफ्ना साधकहरुलाई भन्नु भयो । तिमीहरुले मैले अगाडी दिएको प्रवचनको साटो यो प्रवचनलाई सुन्नु । यसमा बढी शक्ति छ किनकि यो प्रवचनमा बर्षौको मौनव्रतको दिव्यशक्ति समाहित छ जस्ले साधकलाई साधनापथमा अगाडी बढन सहयोग गर्दछ।  

केही बर्ष अगाडिदेखि निगुर्ण आध्यात्मिक गीतहरु मद्वारा अनायास लेखिएका छन् । ती गीतहरुमा परमात्माले मैले हिड्ने बाटोमा चेतनाको उज्यालो छरिदिएको महसुस गर्दछु । त्यसैले यी गीतहरुको भावमा सलल पानी झैं वग्न र आफै भित्रको संसारमा आनन्दित भै प्रारब्ध कर्म भोग्न खोज्दछु । यही मेसोमा मैले यो गीतलाई जानी नजानी संगीत र स्वर पनि दिन पुगे।

म सलल पानी झैं बगी रहुँ

म निन्द्रामा पनि जागी रहुँ

म भित्रै पाऊ चारधाम र काशी

म आफैलाई हेरौं बनेर साक्षी

मेरो सँग बनोस  मेरो नै सास

म नबनौं कहिल्यै यो मनको दास

म आफ्नो दुःख भोग्दा दुःख नमानौं

आफ्नो दु:खको कारण अरुलाई नठानौं ॥