24-Feb-2020 | १२ फाल्गुन २०७६, सोमबार

नेपाली रामचरितमानस : रामायणको अर्को घुम्ती

९ पुष २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क

एक समय संस्कृत साहित्यका आदिकवि महर्षि वाल्मीकि प्रेमालापमा मग्न सारस पंक्षी जोडीको गतिविधि नियालिरहेका थिए । तत्क्षण सिकारी आयो, पुरुष सारसको हत्या गरिदियो । स्त्री सारस विलाप गर्न थाली । यो दृष्य देखेर महर्षि वाल्मीकिको मानसपटलमा करुणा प्रष्फुटित भयो र स्वतस्फुर्त रुपमा कवित्व जागृत हुनपुग्यो । महर्षि वाल्मीकिको मुखबाट निस्कियोः

मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः ।

यत्क्रौंचमिथुनादेकम् अवधीः काममोहितम्।।

हे दुष्ट, तिमीले प्रेममा निमग्न क्रौन्च पक्षी मार्यौ तिमीलाई कहिले पनि प्रतिष्ठाको प्राप्ति हुनेछैन र वियोग सहन गर्नुपर्नेछ ।

यस्तो उद्गार गर्दै मौलाएको आदिकवि वाल्मीकिको मौलिक रचनाको उत्कर्ष संस्कृतको आदिम महाकाव्य रामायण हुनपुग्यो । शास्त्रीय अनुष्टुप छन्दमा रचिएको रामायणको अर्थ हुन्छ रामको यात्रा । रामायणमा मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जीवनलीलाका साथ आदर्श भ्रातृत्वप्रेम, आदर्श पति, आदर्श पत्नी, आदर्श सन्तान, आदर्श प्रेम, आदर्श तथा नैतिक जीवनदर्शनको अनुपम वर्णन तथा सामाजिक, मनोवैज्ञानिक, राजनीतिक आदि विषयमा बेजोड प्रस्तुति रहेको छ । सात काण्डका रहेको रामायणमा २४ हजार श्लोक रहेका छन् ।

लौकिक संस्कृतको महत्त्वपूर्ण काव्य रामायण नै हो । संस्कृत वाङ्मयमा लौकिक साहित्यको प्रयोग र सिर्जनाका दृष्टिले महर्षि वाल्मीकि आदिकवि हुन् र रामायण आदि काव्य हो । यस्ता कृतिले युगको नै प्रतिनिधित्व गर्दछन् । यस्ता कृतिमा आख्यानभित्र पनि आख्यान हुन्छ । संस्कृतमा रामायण र महाभारत यस्ता कृति हुन् जसभित्र संसार अटाएको छ । लय, भाषाशैली, पात्र, युगको आख्यान, बृहत् स्वरूप, खण्ड या सर्गयुक्त, कथानक, देशकाल, परिवेश जस्ता यी काव्यका तत्व रहेका छन् ।

रामायणकै विषयवस्तुलाई अंगिकार गर्दै हिन्दीमा ११, मराठीमा ८, बंलामा २५, तमिलमा १२, तेलुगुमा १२ लगायत, अबधी, नेपाली, तिब्बती, गुजराती, मलयालम, अरबी, उर्दू, फारसी आदि भाषामा हजारौंको संख्यामा भावानुवाद तथा छायानुवादको स्वरुपमा देख्न सकिन्छ ।

संस्कृतको रामायणलाई अबधी भाषामा अनुवाद गरी श्री रामचरितमानसको जन्म दिने गोस्वामी तुलसीदासको जन्म संवत् १५५४ को श्रावण शुक्ल सप्तमी १२ महिनाको गर्भवासपछि भएको हो । विवाहपछि एक समय माइत गएकी पत्नीको शारीरिक आशक्तिका कारण पछिपछि लागेर गएपछि पत्नीले धेरै गाली गर्दै, मेरो यो हड्डी मासुको शरीरमा जति तिम्रो आशक्ति छ, त्यसको आधा जति पनि आशक्ति भगवानमा हुन्थ्यो त तिम्रो उद्धार हुन्थ्यो, भनिन् । पत्नीको यस्तो तिरस्कारपछि गोस्वामी तुलसीदास तत्काल त्यहाँबाट हिंडेर पछि हनुमानजी र श्रीरामचन्द्रजीको दर्शन प्राप्त गरी श्रीरामाचरितमानस ग्रन्थको रचना गरेका थिए । श्री रामचरितमानसको मन्त्रवत् प्रभाव भारतीय समाजमा रहिआएको छ ।

त्यसैगरी संस्कृतमा रचना गरिएको अध्यात्म रामायणलाई मौलिकताका साथ नेपाली भाषामा भावानुवाद गरेर नेपाली कविताको विकासमा महत्वपूर्ण योगदान नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले दिए । वि.सं. १८८९—१० को अवधिमा रामायणका सातै काण्डको अनुवाद गरिसकेका आचार्यमा पूर्ववर्ती कविका तुलनामा भाषिक परिष्कार, अभिव्यक्तिगत सरलता तथा काव्यगत वैशिष्ट्य पाइन्छ । २९ असार १८७१ मा तनहँको चुँदी रम्घामा प्रथम पटक पाइला टेकेका आदिकवि भानुभक्त आचार्यले संस्कृतका प्रकाण्ड विद्वान बाजे श्रीकृष्ण आचार्यको संसर्गमा काव्ययात्रा थालेका हुन् । परिवारभित्रको काव्यधारात्मक वातावरण र मौलिक कवित्व शक्तिका कारण भानुभक्त संस्कृत साहित्यका आदिकवि वाल्मीकिद्वारा रचित अध्यात्म रामायणको नेपालीमा अनुवाद गरी सबै नेपालीको झुपडीमा पुग्न सफल भए । भानुभक्तले वाल्मीकि रामायणको केवल अनुवादमात्र गरेनन् त्यसमा मौलिकताले सिंगार्दै सहज, सरल र मिठासयुक्त ढंगले नेपाली पाराको रंगरोगन पनि गरे । नेपाली रामायणमा कतिपय विषय थपघट गरी नेपाली परम्परा तथा संस्कृति अनुकूल थपघट पनि गरे । भानुभक्तले नेपाली रामायणमा संस्कृत छन्दको प्रयोग सहजताका साथ गरेका छन् । यस महाकाव्यमा शार्दूलविक्रीडित छन्दको अधिक प्रयोग गरिएको छ । नेपाली रामायणको ठाउँठाउँमा प्राकृतिक सौन्दर्यताको मनोरम वर्णन, उपमा तथा उत्प्रेक्षा आदि अलंकारको दिव्य संयोजन गरिएको छ । त्यसैगरी महाकाव्यमा शृंगार, वीर, हास्य, करुणजस्ता रसको कुशलताका साथ प्रयोग गरिएको छ । अध्यात्म चेतनाले समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोच भानुभक्तको जताततै छचल्किएका छन् ।

यस्तै रामायणकै परम्परामा एक नवीन आयाम थपिएको छ : नेपाली रामचरितमानस । वर्तमानमा हिन्दू जगतमा सर्वाधिक लोकप्रिय रामचरितमानस अबधी भाषामा रहेकाले नेपाली जनमानसलाई ग्रहण गर्न सजिलो होस् भन्ने अभिप्रायले आचार्य तुलसीराम शर्माले समशैली र समछन्दमा नेपालीभाषामा छायानुवाद गरेपछि रामायणमा आधारित ग्रन्थ रचना गर्ने परम्परामा नयाँ तरंग आएको छ । आचार्य तुलसीराम शर्माको जन्म बाग्लुङ्गमा भएको हो भने हाल अमेरिकाको डालसमा बसोबास गर्नुहुन्छ । शर्माले लेख्नुभएको नेपाली रामचरितमानस ग्रन्थको प्रकाशन हरिहर सन्न्यास आश्रम देवघाटले गरेपछि केही समय पहिले हरिहर मन्दिर धापासीमा एक समारोहबीच उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकार्पण गर्नुभएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. जगमान गुरmङ्गले यो ग्रन्थको धार्मिक तथा सांस्कृतिक महत्व रहने जनाउनुभयो । अहिले यो कृति नेपाल तथा विदेशमा चर्चाको विषय बनेको छ । यो ग्रन्थ अनलाइन अमाजोनबाट विश्वभरि नै प्राप्त गर्न सकिने रचनाकार शर्मा बताउनुहुन्छ । नेपाली रामचरितमानस ग्रन्थको प्रधानसम्पादक सह प्रा डा. वासुदेव खनाल तथा सम्पादक सह प्रा. रामचन्द्र कण्डेल रहनुभएको छ भने जगत्गुरु रामभद्राचार्य, स्वामी ज्ञानानन्द सरस्वती, श्री १००८ स्वामी रमाणानन्द गिरि, महामण्डलेश्वर स्वामी आत्मानन्द गिरि, स्वामी जगन्नाथाचार्य, आचार्य पूर्णचन्द्र ढुंगेल, प्रा. हरिप्रसाद अधिकारी, प्रा.डा. कुलप्रसाद कोइराला, सह प्रा. डा निर्मलमणि अधिकारी, चिन्तक चिन्तामणि योगी, साहित्यकार नरेन्द्रराज प्रसाई लगायतका विशिष्ट व्यक्तित्वहरुको शुभेक्षाका साथ सुरु भएको छ । गोस्वामी तुलसीदासकृत श्रीचामचरितमानसको निकट रहेको आचार्य तुलसीरामकृत नेपाली श्रीरामचरितमानसमा पनि पूर्ववर्ती ग्रन्थमा जस्तै बालकाण्ड, अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, लङ्काकाण्ड, उत्तरकाण्ड गरी सात काण्ड रहेका छन् ।

यो सम्पर्ण जगत् सीताराममय छ भन्दै ग्रन्थमा उल्लेख छः

सियाराममय स्व जग जानी ।गर्छु प्रणाम जोडी दुइ पाणी ।

हरि अनन्त हरिकथा अनन्ता । जो गाउँछन् सुन्छन् श्रुति सन्ता ।।

यसरी छायानुवाद गरिएको ग्रन्थमा अन्तिममा भनिएको छः

हेर्ने पाप र पुण्यदातृ सुख औ विज्ञान भक्ति दिने ।

माया मोह महापहारक सफा प्रेमाम्बुले पूरित ।।

जो यो रामचरित्रमा सभगती डुब्की सदा लाउँछन् ।

जल्दैनन् भवसूर्य रश्मिहरुले हुन् धन्य ती मानव ।।

५२७ पृष्ठसंख्यामा समेटिएको यो ग्रन्थ नेपाली साहित्यको नौलो आयाम त हो नै त्यसको अतिरिक्त धार्मिक आस्थाको धरोहर पनि हो । पूर्वीय मौलिक नीति, ज्ञान, विज्ञान, दर्शन, संस्कृति, परम्परा, भाषा, साहित्य, प्रेम, धर्म, अर्थ, काम, मोक्ष आदि अनन्त विषयको ज्ञानरुपी गहिराइमा डुबुल्की मार्न यो ग्रन्थ सहायक सिद्ध हुनेछ ।  

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार