स्वास्थ्य

रक्तदाताको डायरी : ऋण काढेर रक्तदान यात्रा

अर्जुनप्रसाद मैनाली
विश्व रक्तदाता, न्यूयोर्क

नोभेम्बर ६, २०१८ मा सासुआमा, काका ससुरा, काकी सासुआमा र श्रीमतीलाई नायाग्रा फल्स घुमाउन लगें । त्यहाँबाट क्यानेडियन ब्लडडोनर नजिकै थियो । घुमफिरपछि रक्तदान गर्न गएँ । ब्लड प्रेसर बढेर सिष्टोलिक २०० र डाईसिष्टोलिक १०५ भएछ । रक्तदान गर्न मिलेन । आफ्नो घर फर्केपछि डाक्टरकोमा गएँ । डाक्टरले औषधीको परिमाण थपिदिए । ब्लड प्रेसर नियन्त्रण भयो । अब रक्तदान गर्न मिल्ने भएकोले खुसी भएँ ।

रक्तदान गर्न फेरी नोभेम्बर १७, २०१८ बिहान टोरोन्टो, क्यानाडा गई रक्तदान गरी बेलुका न्यूयोर्क फर्किन हवाइजहाजको दुईतर्फी टिकट लिएँ । समयमै एयरपोर्ट पुगें तर पासपोर्ट घरमै भुलेछु । टिकट फिर्ता भएन । क्यानेडियन ब्लड डोनरसम्म पुग्न असमर्थ भएँ । एयरपोर्टबाटै रक्तदान गर्ने मिति डिसेम्बर ५ को लागि सारें ।खर्चको लागि भ्यानगार्डबाट केही ऋण लिई पुन: टिकट काटें । आफुले भनेको मितिमा टिकट पाईन । त्यसैले बिहान ८ बजे जेएफके एयरपोर्टबाट उड्ने र अपरान्ह ४ बजे लग्वार्डिया एयरपोर्टमा फर्किने गरी टिकट काटें । यी दुबै एयरपोर्ट न्यूयोर्कमा करिब आधा घण्टाको दुरीमा भएकाले त्यति गार्हो भएन । क्यानाडा एअरपोर्ट अध्यागमनका अधिकारीले किन आउनु भएको ? भनी सोधे । “म क्यानेडियन ब्लड डोनर क्लिनिक जाँदै छु” भने । मैले लगाएको ज्याकेटमा न्यूयोर्क ब्लड डोनर सेन्टर लेखिएको अक्षरमा हेर्दै पासपोर्टमा छाप लगाइदिए । बिहानको करिव ११:१० बजे ब्लड डोनर क्लिनिकमा पुगें । स्वास्थ्य परिक्षणमा ब्लडप्रेसर बढेर सिष्टोलिक १५५ र डाईसिष्टोलिक ९५ भएछ । ‘ब्लड प्रेसर हाइ भएको कुरा डाक्टरलाई थाहा छ त ?’ नर्सले ब्लड ब्याग दिदै सोधिन । नर्स राम्री र उत्तिकै छिटी-छरिती थिइन् । उनले कतिखेर मेरो पाखुरामा सियो घुसारेर ५०० मिलिलिटर रगत निकालेर लिएको पत्तै भएन !

यत्रो साधन, श्रोत, समय, खर्च गर्दै आफ्नो शरीरको अमुल्य रगत अरुलाई दिनु सामान्य कार्य हुँदै होइन । सायद यस धर्तीमा कसैले यसरी सोचेका हुँदैनन् होला ! मैले सधैं, जो जहाँ हुनुहुन्छ, त्यही ठाउँमा कमसेकम बर्षमा एक पटक भएपनि रक्तदान गरिदिन अनुरोध गर्ने गरेको छु ।

घर फर्केपछि बेलुका फेसबुकमा रक्तदान गरेको फोटो सहित सन्देश लेखें । मेरा हजारौं साथीहरुमा रक्तदान सन्देश पुर्याएँ । धेरैले सकारात्मक लिए, केही जितेको अनुभुती भयो ।

जनवरी २०१९ मा एन आर एन क्यानडाले एप्रिलको २० मा रक्तदान कार्यक्रम राखेको कुरा सार्वजनिक गर्‍यो । उनीहरुले मलाई ‘समयमिल्छ भने यो कार्यक्रममा उपस्थित भई दिनु पर्‍यो’ भने । तपाईंको उपस्थितिले हाम्रा समुदायका मानिसहरुलाइ रक्तदान गर्न प्रेरणा मिल्छ । उनीहरुलाई तपाईंकै हातबाट कदर पत्र पनि प्रदान गरौँ’ भने । फेब्रुअरी १९, २०१९ मा अफ्रिकाको इथियोपियामा रक्तदान उत्प्रेरणा र रक्तदान गर्न जान मेरो कार्यक्रम तय भई सकेको थियो । मेरो साथी टिका ढकालसँग ऋण लिएर इथियोपिया जान हवाइजहाजको टिकट काटिसकेको थिएँ । अफ्रिकाको रक्तदान यात्राले मलाई आर्थिक रुपमा अफ्ठ्यारो पारिसकेको थियो । आफ्नो समस्या सबैलाई भनिहाल्नु पनि भएन । साथीभाईको मन राख्नलाई आफ्नो मन मार्नुपर्ने अवस्था धेरै पटक आयो ।क्यानेडियन नेपालीहरुले मलाई छोड्दै छोडेनन ‘सकेसम्म आउनु न है सर’ भने। ल हुन्छ नि भन्दै एप्रिल २० मा न्यूयोर्कबाट बिहान क्यानाडा गएर बेलुका फर्किने गरी हवाइजहाजको टिकेट काटें । कार्यक्रम सफल भयो । पुन: रक्तदान गरें साथीहरुको मन राखें ।