विज्ञान प्रविधि

आज सूर्य ग्रहण, कुन कुन राशीले हेर्न मिल्छ ?

काठमाडौं । आज बिहान नेपालसहित विश्वका अधिकांश मुलुकमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ। उक्त अवसरमा नेपालका कतिपय स्थानीय तह र विद्यालयले सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।

बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

ग्रहणले बिहान ८.४२ मा स्पर्श गर्ने छ भने ११.३१ बजे समाप्त हुनेछ । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुने समितिले उल्लेख गरेको छ । बिहान १०.०१ बजे मध्य हुनेछ ।

पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जानकारी दिएको छ । ग्रहण लाग्नुभन्दा चार प्रहर .१२ घण्टा) अघिबाटै बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको समितिले बताएको छ ।

ग्रहणका बेलामा खानपिनसहित महत्वपूर्ण काम गर्न नहुने मान्यता रहेको छ । तर, स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनाजस्ता कर्मले भने शुभ हुने मान्यता छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने जस्ता मान्यता हिन्दु ग्रन्थहरुमा लेखिएको छ ।

यस पटकको सुर्यग्रहण कर्कट, तुला, कुम्भ र मीन राशि हुनेका लागि उत्तम मानिएको छ ।

मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने नेपाली पात्रोले उल्लेख गरेको छ ।

शुभ फल मिल्ने राशि भएकाले पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने हेर्न हुँदैन ।