फिचर

पोखरामा भारतीय बस आउन रोक

पोखरा । पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक बसमा प्रतिवन्ध लागेको छ ।

पोखरामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि प्रतिवन्ध लगाएको हो ।

पोखरामा भारतीय पर्यटकको बाहुल्य रहेको छ । उनीहरु आफ्नै सवारी साधन लिएर आउने गरेका छन् ।

प्रतिवन्धपछि पोखरा आउने भारतीय पर्यटकको आगमनमा भने असर पर्न सक्ने पोखराका पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीको आग्रहमा भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि रोक लगाएको हो ।

त्यसो त यसमा पोखरा पर्यटन परिषदले समेत सहमति जनाएको छ । व्यवसायीहरुका अनुसार पोखरा आउने विदेशीमध्ये ४० प्रतिशत पर्यटक भारतीय छन् ।

जसमध्ये अधिकांश आफ्नै देशको गाडीमा नेपाल आउने गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० कै मुखमा भारतीय बसलाई पोखरामा प्रतिवन्ध लागेको हो ।

पोखरामा ट्राफिक जाममा फस्नु भन्दा पोखरा भित्रै रहेका सवारी साधन प्रयोग गर्दा भारतीय पर्यटकलाई समेत सहज हुने भएकाले सवारीमा रोक लगाउनु परेको सरोकारवालाले बताएका छन् ।

क्रिसमस र नयाँ वर्षमा धेरै पर्यटक पोखरा आउने भएकाले अझ जामको समस्या पर्ने गरेको छ ।