समाचार

नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने

न्युयोर्क/अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ ।
नेजा कार्यसमितिको गत डिसेम्बर ८ मा बसेको कन्फ्रेन्स कल बैठकले आगामी अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमिति सदस्य र नेजाका सल्लाहकारहरु सहितको बैठकले आगामी अधिवेशनस्थल न्यूयोर्क तोकेको हो ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सन् २०२० मे २ र ३ गते अधिबेशन सम्पन्न गरिने तय भएको छ । बिगतमा प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे महिनाको पहिलो साता अधिबेशन गरिदैं आएको थियो । त्यसै अनुसार यसपाली मे महिनाको पहिलो शनिबार र आइतबार गरिने भएको हो ।
कार्यक्रम सफल पार्नका लागि अमेरिकामा रहेका नेपाली समुदाय, ब्यबसायी, समाजसेबी, बिभिन्न संघ संस्थाका प्रतिनिाध सबैलाई सहयोग गरिदिन पनि नेजाले बिशेष आग्रह गरेको छ । अधिवेशन सम्पन्न गर्नका लागि नेजाकी उत्तर पूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको छ ।