फिचर

पुनर्निर्माणका बाँकि काम सक्न अझै ३ खर्ब चाहिने

काठमाडौं । सरकारले १२ वैशाख २०७२ को भूकम्पयता पुनर्निर्माणका क्रममा संरचना निर्माणमा मात्र साढे ३ खर्ब रुपैयाँ खर्च गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत २ खर्ब ९३ अर्ब रुपैयाँ र गैर सरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको प्राधिरकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरण १२ पुसमा ५ औं वर्षमा प्रवेश गर्दैछ । यसको समयावधी ५ वर्ष हो । अबको १ वर्षमा प्राधिकरणले पुनर्निर्माणका बाँकि काम पुरा गर्नुपर्ने दायित्व छ ।

तर, कतिपय संरचना भने अझै पनि पुनर्निर्माण नै थालिएका छैन । त्यसकारण आगामी दिनमा थप बजेटको आवश्यकता रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार अब पुनर्निर्माणका बाँकि काम गर्न अझै ३ खर्ब रुपैयाँ बजेट आवश्यक देखिएको छ । चार वर्षको अवधिमा पुनर्निर्माणको औषत ८३ प्रतिशत प्रगति देखिएको छ ।

तर, बजेटको आवश्यकताका आधारमा भने अझै ठूलो रकम चाहिन्छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७२\७३ मा २२ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ खर्च भएको थियो ।

आव २०७३\७४ मा ४९ अर्ब ६९ करोड १७ लाख बजेट खर्च भयो । आव २०७४\७५ मा १ खर्ब १४ अर्ब ७८ करोड ११ लाख खर्च भएको थियो ।

आव २०७५\७६ मा ८९ अर्ब ४३ करोड ७६ लाख खर्च भएको तथ्यांक छ । चालु आवमा भने १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

चार वर्षमा निजी आवास पुनर्निर्माणतर्फ कूल ८६ प्रतिशत प्रगति भएको प्राधिकरणको तथ्यांक छ ।

अहिले धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरवार, नुवाकोट दरवार, सिंहदरवारलगायत संरचनाको बनिरहेका छन् ।