समाचार

प्रधानमन्त्रीको विदेश आकर्षण, १५ महिनाभित्र ९ मुलुक, ११ भ्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको १५ महिना मात्र भएको छ । तर, यसबीचमा उनले ७ मुलुकको औपचारिक भ्रमण गरिसकेका छन् भने आगामी जेठ २५ बाट थप तीन मुलुकको भ्रमणमा निस्कदैछन् ।

त्यसो त प्रधानमन्त्रीले भारतमा दोहोर्याएर भ्रमण गरिसकेका छन् । उनी जेठ १६ देखि दुई दिने भारत भ्रमण गरी नेपाल फर्किएका हुन् । प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहणमा भाग लिन त्यहा पुगेका थिए ।

जेठ २५ देखि ३२ गतेसम्म भने प्रधानमन्त्री युरोपका तीन मुलुकको भ्रमणमा जाँदैछन् । उनी युरोपेली मुलुकहरु स्वीजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेका हुन् ।

यी तीन मुलुकको भ्रमणपछि प्रधानमन्त्रीले १५ महिनामा ९ मुलुक घुमिसक्नेछन् । किनकी प्रधानमन्त्रीले स्वीजरल्याण्डमा अब गर्ने भ्रमण समेत उनी दुई पटक जानेछन् ।

ओली २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । उनी प्रधानमन्त्री भएपछि भारत, चीन, अमेरिका, कोस्टारिका, स्वीजरल्याण्ड, भियतनाम र क्याम्बोडियाको भ्रमण गरिसकेका छन् ।

उनी संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन अमेरिका गएका थिए ।