समाचार

कांग्रेसमा किचलो बल्झने संकेत, पौडेल समूहको भेला आज

काठमाडों । कांग्रेस सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले केन्द्रीय कार्य समितिको अवधि एक बर्ष बढाएपछि कांग्रेसमा जारी किचलो अझ बढ्ने भएको छ ।

बहुमतबाट एकलौटी निर्णय आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र उनका पक्षका नेता भने असन्तुष्ट छन् ।

शनिबार पौडेल पक्षका नेताहरु भेला हुँदैछन् । महामन्त्री डा. शशांक कोइरालाको निवासमा पौडेल निकट नेताहरु भेला हुने तयारी छ ।

त्यसपछि पत्रकार सम्मेलनमार्फत ौडेल पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

देउवा पक्षले पेलेरै जाने नीति लिएपछि पौडेल पक्षधर असन्तुष्ट बनेको छ । पौडेल पक्षको भेलामा नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुँदैछन् ।

सभापति देउवाको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको १४ औं महाधिवेशन आगामी २०७७ फागुनमा गर्ने निर्णय गर्दै कार्यकाल एक वर्ष लम्ब्याउने निर्णय गरेको हो । कांग्रेस विधानअनुसार हरेक ४ वर्षमा महाधिवेशन हुनुपर्छ।