समाचार

संस्थापन पक्षले निर्णय सच्याउनु पर्छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन र विभाग गठनका सम्बन्धमा भएका निर्णय सच्चिनु पर्ने बताएका छन् ।

शनिबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पोडेल पक्षधर नेताहरुको बैठकपछि आयोजित पत्रकार सम्मेलनका दौरान उनले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पौडेलसँगै उपस्थित थिए ।

पौडेलले सभापति शेरबहादुर देउवाको एकलौटी निर्णयले पार्टी धरापमा पर्ने उल्लेख गरे ।

देउवाले आफू पक्षका केन्द्रीय सदस्य मात्र उपस्थिति भएको शुक्रबारको केन्द्रीय समिति बैठकबाट १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने गरी मिति तोकेको थिए ।

२८ विभाग रहेको कांग्रेसमा केन्द्रिय विभागको संख्या समेत ४७ वटा पुर्याउने निर्णय उनले बहुमतका आधारमा गरेका थिए ।

शुक्रबारको बैठकमा पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्य उपस्थित नभएको मौकामा संस्थापन पक्षले उक्त निर्णय गरेको थियो ।

पौडेलले विधानको घेराभित्र रहेर सहमतिअनुसार पार्टी सञ्चालन गर्नुपर्नेमा पेलेर जाने काम भएको बताए ।

भातृ संस्था नेविसंघ, दलित संघजस्ता संघको अधिवेशन नगराउनु पार्टीलाई संकटतर्फ धकेल्नु बराबर भएको उनको भनाई छ ।