अमेरिका

सेनामा राजनीति नगर्न ह्वाइट हाउसलाई पेन्टागनको अनुरोध, जोन म्याकेनको नामको युद्धपोत मुख्य मुद्दा

न्यूयोर्क
अमेरिकी रक्षामन्त्रालय पेन्टागनले राष्ट्रपति भवन ह्वाइट हाउसलाई सेनामाथि राजनीति नगर्न अनुरोध गरेको छ । पूर्व सिनेटर एवं भियतनाम युद्धका अमेरिकी हिरो जोन म्याकेनको सम्मानमा उनको नाम दिइएको युद्धपोत माथिको बिवाद बढ्दै जाँदा पेन्टागनको उक्त अनुरोध आएको हो ।

गत बर्ष मृत्यु भएका म्याकेनको सम्मानमा पेन्टागनले एक युद्धपोतलाई ‘युएसएस जोन एस म्याकेन’ नामाकरण गरेको थियो । अघिल्लो साता जापान भ्रमणमा गएका ट्रम्पले त्यहाँ रहेको अमेरिकी सेनालाई सम्बोधन गर्ने क्रममा ह्वाइट हाउसले उक्त युद्धपोत नदेखिने गरि राख्न आग्रह गरेको थियो । म्याकेन ट्रम्पको आलोचक थिए । ट्रम्पले भने उनको मृत्युपछि पनि उनलाई गाली गरेका थिए ।

ह्वाइट हाउसको अनुरोध बमोजिम उक्त युद्धपोत ट्रम्पको सम्बोधनताका लुकाएर भने राखिएन । ट्रम्पले भने आफुलाई ह्वाइट हाउसले गरेको उक्त अनुरोध बारे केही जानकारी नभएको बयान दिएका छन् । साथै आफ्नो भ्रमणटोलीका कसैले यस्तो अनुरोध गरेको भएको त्यो गलत प्रस्ताव नभएको समेत उनले बताएका छन् ।

पेन्टागनका कार्यबाहक सेक्रेटरी प्याट्रिक श्यानहानले भने आफुले उक्त प्रकरणबारे थप सोधपुछ गर्ने बताएका छन् । उनले सेनाबारे राजनीति गर्न आवश्यक नरहेको र यो प्रकरण सुल्झाउन आफुले उपयुक्त कदम चाल्ने समेत बताएका छन् ।