समाचार

प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको छ ।

नेकपाको आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानीको टुंगो लगाएको हो ।

बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

प्रदेशको नाम र राजधानीमा नेताहरुबीच सहमति नभएका कारण अझै चार वटा प्रदेशले नाम र राजधानी टुंगो लगाउन सकेका छैनन् ।

त्यसमा प्रदेश नं ३ पनि एक हो । प्रदेशको नाममा नेपाल मण्डल, नेवा ताम्सालिङ र बाग्मती गरी तीन विकल्पमा छलफल भएको थियो ।

राजधानीका लागि भने काभ्रे, भक्तपुर र हेटौंडा गरी तीन विकल्पबाट हेटौडा छानिएको हो । हैटौडा अस्थायी राजधानी तोकिएको शहर हो ।

प्रदेश ३ प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत रहेका कारण नेकपाले सिफारिस गरेकै नाम र राजधानी कायम हुने निश्चित भएको छ ।