फिचर

एकै पटक ८५ अर्बको वैदेशिक लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले एकै पटक पौने खर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीलाई स्वीकृति प्रदान गरेको छ ।

तीनवटा जलविद्युत आयोजना निर्माण गर्न ८५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ ।

बोर्ड अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार बोर्डको बैठक बसेको थियो । बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

बोर्डका अनुसार कोरियाली लगानीमा बन्ने माथिल्लो त्रिशुली १ लाई ६५ अर्ब, मर्स्याङदी बेंसी जलविद्युत आयोजनालाई ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनालाई ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी स्वीकृत गरिएको छ ।

२१६ मेगावाटको माथिल्लो त्रिशुली १ आयोजना नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण हुने भएको छ ।

निजी लगानीमा मर्स्याङ्दीबेंसी बनिरहेकोछ भने नेपाल विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ ।

बोर्डले निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको छयाङकुटीदेखि दिर्दिङसम्मको पहुँचमार्गको मुआब्जा वितरणका लागि गठन भएको छानविन समितिलाई थप प्राविधिक सहयोग हुने गरी पुनर्गठन गर्ने निर्णय गरेको छ ।

यस समितिबाट २ महिनाभित्र प्रतिवेदन माग्ने निर्णय समेत बैठकले गरेको छ । पछिल्लो समय जलविद्युत क्षेत्रमा तिब्र गतिमा वैदेशिक लगानी आइरहेको छ ।