समाचार

घरबहालमा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकासहित शहरी इलाकामा अब घर बहालमा बस्नेहरुको विवरण घरबेटीले प्रहरीलाई बुझाउनु पर्ने भएको छ ।

गृह मन्त्रालयमा मंगलबार सरोकारवालाको बैठक बसेको थियो । बैठकले काठमाडौं उपत्यकासहित देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकाल्दै विवरण बुझाउनु पर्ने निर्ण गरेको हो ।

खासगरी मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको गृह प्रशासनको निष्कर्ष रहेको छ।

मंगलबार गृह मन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईले सुरक्षा संयन्त्रका प्रमुखहरुसँग छलफल गरेको थियो ।

बैठकले आपराधिक गतिविधि रोक्न प्रहरीलाई आवश्यक कदमका लागि निर्देशन समेत दिएको छ ।

पछिल्लो केही दिनयता चिनियाँ नागरिकलाई काठमाडौंमा भाडामा बसेर आपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थ भण्डारणमा समेत कोठा प्रयोग भइरहेको जनाएको छ ।

मुख्य शहरी इलाकामा घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयको विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउन बैठकले आह्वान गरेको छ ।