फिचर

अमेरिकीका लागि ओबामा र ट्रम्प सर्वाधिक प्रेरक पुरुष, प्रेरक महिलामा मिचेल

न्यूयाेर्क
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताको नजरमा प्रेरक व्यक्तिको सूचीमा पूर्व राष्ट्रपति बाराक ओबामालाई भेट्टाएका छन् । ट्रम्प यसपाली पहिलो पटक ओबामासँगै अमेरिकीको नजरको ‘मोष्ट एड्मायर्ड’ व्यक्तिको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् । ओबामा १२ बर्ष देखि यो सूचीको अग्रस्थानमा छन् । यति लामो समय लोकप्रिय व्यक्तिको रुपमा अग्रस्थानमा नम्बरमा रहने उनी पहिलो व्यक्ति हुन् ।

ग्यालप न्यूजले हरेक बर्षको अन्त्यमा अमेरिकीको नजरको प्रेरक व्यक्तिबारे सर्भेक्षण गर्ने गरेको छ । दोस्रो विश्वविद्धको अन्त्यसँगै सन् १९४६ मा यो सर्भे सुरु गरिएको थियो । त्यसयता साधारणतया जो व्यक्ति राष्ट्रपति निर्वाचित भयो उही नै सर्वाधिक प्रेरकको रुपमा मत पाउँदै आएको थियो । ट्रम्प भने आफ्नो कार्यकालको अन्तिम तिर नजिक पुग्दा मात्र यो सूचीको एक नम्बरमा पर्न सफल भएका हुन् ।

यसपाली ओबामा र ट्रम्पले समान १८ प्रतिशत मत पाएका छन् । गत बर्ष ओबामाले १९ प्रतिशत मत पाउँदा ट्रम्पलाई १३ प्रतिशतले मात्र आफ्नो प्रेरक व्यक्तिको रुपमा चयन गरेका थिए । सन् २०१६ मा ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि गरिएको सर्भेक्षणमा १५ प्रतिशत मत पाएका थिए । उक्त बर्ष ओबामालाई २२ प्रतिशतले चुनेका थिए । सन् २०१२ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि ओबामाले सर्वाधिक ३० प्रतिशत मत पाएका थिए । ओबामा सन् २००८ बाट अमेरिकीहरुको सर्वाधिक प्रेरक व्यक्ति रहँदै आएका थिए । सन् २००७ मा पनि उनले तात्कालिन राष्ट्रपति जर्ज डब्लु बुस बराबर मत पाएका थिए । केही मतको अन्तरले मात्र बुस अघि रहेको ग्यालपको तथ्यांकले देखाउँछ ।

ग्यालपले हरेक बर्ष डिसेम्बर सुरु देखि १५ सम्म सर्वाधिक प्रेरक व्यक्तिबारे सर्भेक्षण गर्ने गरेको छ । यसमा सहभागिलाई छनौट उत्तर दिइएको हुँदैन । सर्भेक्षणको उत्तरदाताले आफुलाई मन पर्ने जिवित व्यक्तिको नाम आफैँ लिन पाउँछन् । सोही कारण धेरैको मनमा सजिलै आउने हुँदा साधारणतया बहालवाला राष्ट्रपतिले नै सर्वाधिक मत पाउने गरेका हुन् । यसमा बहुमत भने आफ्ना लागि त्यस्तो व्यक्ति कोही नरहेको भन्नेकै हुने गरेको छ । यसपाली पनि २५ प्रतिशत सहभागिले आफ्ना लागि त्यस्तो प्रेरक जिवित व्यक्ति कोही नरहेको जवाफ दिएका थिए । गत बर्ष यो संख्या २६ प्रतिशत थियो । यसपालीको सर्भेक्षणमा एक हजार व्यक्तिबाट नमुना संकलन गरिएको जनाइएको छ । प्रतिशतका हिसावले ओबामा र ट्रम्प समान बिन्दुमा रहेपनि केही मतले ओबामाले उछिनेको ग्यालपले जनाएको छ ।

पछिल्लो समय अमेरिकामा डेमोक्र्याट र रिपब्लिकन धारमा देखिएको चरम विभाजन यसपालीको प्रेरक व्यक्ति छनौटमा पनि प्रतिबिम्बित भएको छ । कुल ४१ प्रतिशत डेमोक्र्याटले ओबामालाई आफ्नो प्रेरक व्यक्ति बताएका थिए । उनलाई १२ प्रतिशत स्वतन्त्रले पनि ‘एड्मायर्ड’ व्यक्तिको रुपमा छनौट गरेका छन् । उनलाई रुचाउने रिपब्लिकन भने तीन प्रतिशत मात्र छन् । ट्रम्पलाई ४५ प्रतिशत रिपब्लिकन, १० प्रतिशत स्वतन्त्र र दुई प्रतिशत डेमोक्र्याटले प्रेरक व्यक्तिको रुपमा लिएका छन् । रिपब्लिकन पार्टीभित्र पटक बढ्दै जाँदा ट्रम्प यो समर्थनको अवस्थामा पुगेका हुन् । केही समय अघिको एक सर्भेक्षणमा बहुमत रिपब्लिकनले ट्रम्पले प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिंटनभन्दा पनि उत्कृष्ट राष्ट्रपति बताएका थिए । ट्रम्प सार्वजनिक रुपमा एकपछि अर्को विवाद पार्टी भित्र भने उनको लोकप्रियता झनै चुलिएको हो । ओबामा र ट्रम्प बाहेक कसैले पनि दोहोरो अंकको समर्थन पाउन सकेका छैनन् । उनीहरु पछि दोस्रो नम्बरमा रहेका पूर्व राष्ट्रपति जिम्मी कार्टर, टेस्लाका सिइओ एलन मस्क र माइक्रोसफ्ट संस्थापक विल गेट्सले समान दुई प्रतिशत मत पाएका छन् ।

महिला तर्फ भने पूर्व ‘फष्ट लेडी’ मिचेल ओबामाको अग्रता कायम छ । उनले १० प्रतिशत मत पाएकी छिन् । गत बर्ष १५ प्रतिशत मत पाउँदै उनले हिलारी क्लिन्टनको लगातारको १६ बर्ष देखिको रेकर्ड ब्रेक गरेकी थिइन् । यसपाली दोस्रो स्थानमा रहेकी ट्रम्प पत्नी मलेनिया ट्रम्पले पाँच प्रतिशत मत पाएकी छिन् । मिचेल र मलेनिया पछि टेलिभिजन प्रस्तोता ओप्रा विनफ्रे, क्लिन्टन एवं जलवायु परिवर्तन विरुद्ध संघर्षरत किशोरी ग्रेटा थुनवर्गले समान तीन प्रतिशत समर्थन पाएका छन् ।

क्लिन्टन कुल २२ बर्ष अमेरिकीको सर्वाधिक प्रिय महिलाको रुपमा छनौट भएकी छिन् । पहिलो पटक पति विल क्लिन्टनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सन् १९९३ मा उनी ‘मोष्ट एड्मायर्ड वुमन’मा छनौट भएकी थिइन् । सन् १९९४ मा पनि अग्रस्थानमा उनी नै रहिन् । तर, त्यसपछिका दुई बर्ष भने मदर टेरेसाले उनलाई पछि पारिन् । १९९७ मा २००० सम्म क्लिन्टननै सूचीको पहिलो नम्बरमा आइन् । २००१ मा जर्ज डब्लु बुस राष्ट्रपति कार्यभार सम्हालेपछि भने उनकी पत्नी बारबराले क्लिन्टनलाई पछि पारिन् । तर, एक बर्षमै क्लिटन् फेरी सूचीको अग्रस्थानमा फर्किइन् । त्यसपछि सन् २०१७ सम्म लगातार उनीनै सर्वाधिक प्रेरक महिलाको रुपमा रहेकी थिइन् ।