फिचर

सरकारले उखु किसानसँग गर्यो सहमति, किसानले ७ माघभित्र सबै पैसा पाउने

काठमाडौं । सरकारले ७ माघ भित्र कृषकले सबै पैसा पाउने गरी समन्वय गर्ने सहमति जनाएपछि सरकार र आन्दोलनरत सर्लाहीका उखु किसान सहमति भएको छ ।

उद्योग मन्त्रालयमा शुक्रबार साँझ दुई पक्षबीच पाँचबुँदे सहमति भएको हो । सहमतिसँगै उखु किसानको आन्दोलन समेत स्थगित भएको छ ।

सर्लाहीस्थित अन्नपूर्ण चिनी मिलले कृषकको दुई वर्षदेखिको करीव ४५ करोड रुपैयाँ वक्तौता नतिरेपछि कृषकहरु सरकारको ढोका घच्घच्याउन काठमाडौं आएका थिए ।

उनीहरुले रकम दिलाइदिन मन्त्रालय र मन्त्री निवासमा धाउँदा समेत रकम नपाएपछि माइतीघर मण्डलामा धर्ना बसेका थिए ।

त्यसपछि संचारमाध्यमको ध्यानाकर्षण भयो । यस मुद्दालाई प्राथमिकताका साथ उठाइयो । फलस्वरुप सरकार स्वयम पहल गर्ने गरी उखु कृषकसँग सहमत गर्न तयार भएको हो ।

उखु किसानका समस्या सञ्चारमाध्यमले उठान गरेपछि मात्र मन्त्रालयले चिनी मिल मालिकलाई बोलाएर किसानको पैसा दिन निर्देशन गरेको थियो ।

पैसा नदिए पक्राउ गर्ने चेतावनी समेत सरकारले दिएको थियो । अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले शुक्रबार नै किसानहरुको खातामा ५० लाख रुपैयाँ पठाएका छन् ।

बाँकी रकम पुस २५ गतेभित्र दिने बाचासमेत गरेका छन् । त्यसपछि उद्योग मन्त्रालयले कृषकलाई मन्त्रालयमा बोलाएर सहमति गरेका हुन् ।

शुक्रबार भएको सहमतिअनुसार माघ ७ गतेभित्र उखु किसानको बाँकी रकम भुक्तानी गरिसक्नु पर्नेछ ।

यसका लागि मन्त्रालयले समन्वय गर्नेछ । भुक्तानी समस्या दिगो रुपमा हल गर्न उखु खरिद विक्री गरेको रकम तुरुन्त भुक्तानी हुने गरी स्वचालित मूल्य प्रणाली बनाउन अध्ययन गर्न सहसचिवको नेतृत्वमा कार्यदल समेत गठन गर्ने सहमति भएको छ ।

किसानहरुलाई सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषि मन्त्रालयमा समेत ताकेता गर्ने भएको छ ।

किसानको भुक्तानी र चिनीको आपूर्तिमा कुनै समस्या वा गुनासो भए सम्बोधन गर्न मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखा तोक्ने र उखु किसानका आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति शुक्रबार भएको छ ।