विश्व

के युद्धको तयारीमा छन् अमेरिका-इरान ?

काठमाडौं । शुक्रबार बिहान इराकको राजधानी बग्दादमा अमेरिकाले ड्रोन आक्रमणमार्फत इरानका शक्तिशाली व्यक्ति मध्ये एक मेजर जनरल कसिम सुलेमानीलाई मारेको छ ।

उनी एलिट कर्दस फोर्स प्रमुख हुन् । इरानको रेभुलसनरी गार्डअन्तर्गत रहने यस सैन्य संगठनको बिस्तार र कार्यक्षेत्र नै इरानीको सीमा भन्दा बाहिर रहेको छ ।

यस फोर्सको प्रमुख भने इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनी हुन् । त्यसकारण अमेरिकाले इरानका दोस्रो शक्तिशाली व्यक्तिलाई मारिदिएको छ ।

यसले संसारभर पुनः एक पटक झस्का दिएको छ । कतै, अमेरिका र इरान युद्धको तयारीमा त छैनन् । इराकको बग्दाद विमानस्थल बाहिर सुलेमानीसहितको टोलीमाथि ड्रोन आक्रमण भएको थियो ।

उनको स्कर्टिगलाई लक्षित गरी ड्रोन हानिएको थियो । सुलेमानीको साथमा ६ जना उच्च अधिकारीसमेत थिए । उनी अमेरिकाको टार्गेटमा भने निकै लामो समयदेखि रहेका थिए ।

इराकका पूर्वशासक सद्दाम हुसेनविरुद्धको कारवाहीमा अमेरिकालाई साथ दिएका सुलेमानीलाई अहिले अमेरिकाले नै मारिदिएको हो ।

सन् २०१५ मा आणविक सम्झौता भयो । जसमा अमेरिकाले सुलेमानी र उनका सेनामाथि आक्रमण नगर्ने नीति नै लिएको थियो ।

तर उक्त सम्झौतालाई ट्रम्पले तोडेपछि फेरी उनी र अमेरिकाको सम्बन्ध चिसिएको थियो ।

अमेरिकाका लागि सुलेमानी र उनको सेना ठूलो खतराको रुपमा रहेको थियो । अन्तरराष्ट्रिय संचारमाध्यमले लेखेअनुसार अमेरिकी सैन्य अधिकारीको दावा जनरल सुलेमानीले इराक युद्धका क्रममा भएको सयौं अमेरिकी सैनिकको मृत्युमा उनको हात थियो ।

त्यस समयमा सुलेमानीले इराकमा विद्रोहीलाई बम बनाउने अत्याधुनिक उपकरण र तालिम दिएका थिए ।

ड्रोन आक्रमणपछि अमेरिकी रक्षा मन्त्रालयले सुलेमानी र उनको कद्स फोर्स सयौं अमेरिकी र अन्य सहयोगी देशका सैनिकको मृत्यु र हजारौं घाइतेका लागि जिम्मेवार रहेको उल्लेख गरेको छ ।

सुलेमानीको मृत्युमा इरानमा तीन दिने राष्ट्रिय शोक घोषणा भएको छ । इरानका सर्वोच्च नेता खमेनीले यसको बदलामा शक्तिशाली कारवाहीको चेतावनी दिएका छन् ।

आक्रामणको डरले अमेरिकाले इराकबाट आफ्ना सबै नागरिकलाई स्वदेश बोलाएको छ ।

इजरायलले आफ्ना केही पर्यटकीय क्षेत्र बन्द गरेको । उसले सुरक्षाकर्मीलाई अलर्ट राखेको छ ।

एजेन्सी