विज्ञान प्रविधि

कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिस्तार हुने

काठमाडौं । कर्णाली र सुदुर पश्चिम प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर नेटवर्क बिस्तार गरिने भएको छ ।

यस सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच शुक्रबार सम्झौता भएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिकामा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

शुक्रबार प्राधिकरणका अध्यक्ष पुरुषत्तोम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

फाइवर नेटवर्क विस्तारका लागि नेपाल टेलिकमले बोलपत्रबाट प्रतिस्पर्धा गराई प्राप्त हुने रकममा अधिकतम ३ अर्ब रुपैयाँ प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषबाट प्रदान गर्ने सहमति भएको छ ।

रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी सम्झौता भएको हो ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लासहित बाँके र बर्दिया जिल्लासमेत गरी २० जिल्लामा नेटवर्क फाइवर बिस्तार गर्न यो सहमतिले काम गर्नेछ ।

आयोजनाअन्तर्गत करिब २४०० किलोमिटर इबर नेटवर्कमा अन्डरग्राउण्ड एडिएसएस फाइवर तथा बुरेइड क्याबल (डिबिसिसी) बिस्तार हुने भएको छ ।

मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइवर नेटवर्क न्यूनतम ९६ कोर हुनेछ ।

जिल्ला सदरमुकाम र नगरपालिकासम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइवर नेटवर्क बिस्तार गर्न लागिएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकम लगानी गरी नेपाल टेलिकमबाट निर्माण एवं सञ्चालन हुने सो अप्टिकल फाइवरमा सूचना महामार्ग निर्माण हुँदैछ ।

यसबाट ठूला पूर्वाधारमा हुने दोहोरो लागानी न्यूनीकरण भई दूरसञ्चार सेवालगायत सस्तो, भरपर्दो र सर्वसुलभ बनाउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ ।