विज्ञान प्रविधि

एलपी ग्यासमा दिइएको सरकारी अनुदान हटाइदै

काठमाडौं । आयातित एलपी ग्यासमा दिँदै आएको सरकारी अनुदान हट्ने भएको छ । यसको तयारी भइरहेको जल तथा उर्जा मन्त्री वर्षमान पुनले जानकारी दिएका छन् ।

उनका अनुसार भारतबाट आयात हुने खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने तयारी भइरहेको बताएका हुन् ।

उनका अनुसार ऊर्जा मन्त्रालयले यसै वर्षबाट ग्यासको अनुदान हटाउन प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले भने आगामी आर्थिक वर्षको बजेटबाट यो अनुदान हटाउने संकेत गरेको छ ।

स्वदेशमा विजुली उत्पादन बढेको र त्यसले स्वदेशको माग धान्न सक्ने अवस्था रहेका कारण ग्यासको अनुदान हटाउन लागिएको उनले जानकारी दिए ।

उनका अनुसार ग्यासको अनुदान हटेपछि ग्यास महंगो हुन्छ । त्यस अवस्थामा विजुलीको महसुल घटाएर खाना पकाउउने प्रयोजनमा विजुलीको प्रयोगलाई बढावा दिने नीति सरकारको छ ।

विद्युतीय चुल्होको प्रयोग बढाउन सरकारले विजुलीको महसुलमा छूट दिने भएको छ । इन्डक्सन चुल्हो प्रयोग गर्ने वर्गको विद्युत महशुल समायोजन गरी ग्राहकलाइ सहजिकरण गरिने जानकारी दिए ।

एकातर्फ स्वदेशी विद्युत खपत बढ्ने र अर्कोतर्फ ग्यासको आयातमा बाहिरिने अर्बौ रकम स्वदेशमै अडिने सरकारको विश्वास छ । महिनामा १ सय युनिटभन्दा बढी खपत गर्ने ग्राहकको महशुल दर न्यायोचित ढंगले समायोजन गरिने भएको छ ।

उनका अनुसार सरकारले यसैवर्ष वैकल्पिक ऊर्जा प्रवद्धृन केन्द्रमार्फत प्रवर्द्धनमा १० हजार इन्डक्सन चुल्हो सहुलियत मूल्यमा विक्री गर्दैछ ।