समाचार

आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर

हेटौडा । प्रहरीले शनिबार ५३ किलो गाँजा बरामद गरेको छ । हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने रातोमाटे-चुरियामाइ जंगलमा गाँजा बरामद भएको हो । त्यसका लागि प्रहरीले हवाइ फायर नै गर्नु परेको छ ।

प्रहरीका अनुसार शनिबार विहान हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको डिए ३ सिएक्यु ४१७२ नम्बरको कारलाई रातोमाटे प्रहरी चौकीले चेकजाँच गर्न रोकेको थियो । तर, कार नरोकी भाग्यो ।

त्यसपछि प्रहरीले नियन्त्रणमा लिन हवाइ फायर नै गरेको थियो । प्रहरीका अनुसार कारमा तीन जना व्यक्ति थिए ।

उनीहरुले सिटमुनि लुकाइराखेको अवैध गाँजा ३२ किलो बरामद गरेको छ । तीनै जना प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीले भारत बिहारको मोतिहारी जिल्ला पूर्वीचम्पारण चैनपुरका ३७ वर्षीय दिलीपकुमार सिंह, रघुनाथपुरका १८ वर्षीय उज्ज्वलकुमार ठाकुर, रौतहट यमुनामाई गापा–४ का विकास सिंहलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

शनिबार नै सोही सडक खण्डमा बा ५ ख ७२६८ नम्बरको ट्रकबाट २१ केजी अवैध गाँजा बरामद भएको थियो ।

यस ट्रकका चालक भने फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । ट्रकमा यात्रा गरिरहेका राक्सिराङ गापा–५ का ३५ वर्षीय राजकुमार मोक्तान भने पक्राउ परेका छन् ।