समाचार

कहाँ अड्कियो सभामुखको हलो ?

काठमाडौं । सत्तारुढ नेकपाभित्र आन्तरिक विवादले राज्यका तीन अंगमध्ये एक व्यवस्थापिका संसद अनिर्णयको बन्दी भएको छ । सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि उनले राजिनामा गरे ।

असोजमा उनको राजिनामा आएको थियो । त्यसको तीन महिना नाघिसक्दा समेत मुलुकले अझै सभामुख पाउन सकेको छैन ।

सरकारको सिफारिसमा राष्ट्रपतिले ४ पुसमा संसदको हिउँदे अधिवेशन आह्वान गरेकी थिइने । त्यसपछि संसद अगाडी नै बढ्न सकेको छैन ।

किनकी नेतृत्वको अभावले संसद बस्न सकेको छैन । सभामुख वा उपसभामुख नभएको अवस्थामा जेष्ठ नागरिकले चलाउन सक्ने प्रावधान छ ।

सभामुखका लागि नेकपा भित्र पूर्व एमाले र पूर्व माओवादी खेमा बीच नै विवाद छ । त्यसमाथि राष्ट्रपति विद्यादेवि भण्डारी वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेको पक्षमा रहेकी छिन् ।

जसले गर्दा नेताहरुबीच कुरा मिल्न सकेको छैन । पार्टीमा पूर्वएमालेको तर्फबाट प्रधानमन्त्री भइसकेको अवस्थामा सभामुखमा पूर्वमाओवादी नेताहरुले दावि गरेका छन् ।

किनकी प्रधानमन्त्रीका लागि पूर्वसहमति अनुसार प्रचण्डले दावा नगरेपछि उनीमाथि फेरी पनि पूर्वएमालेका अगाडी झुकेको आरोप उनकै समर्थक नेताहरु लगाउँछन् ।

यस्तो अवस्थामा कुनै पनि हालतमा पद छाड्न नहुने पूर्वमाओवादी नेताहरुको तर्क रहेको छ ।

प्रचण्ड र केपी ओलीबीच मात्र कुरा मिल्दा पनि दोस्रो तहका नेताबीच सहमतिमा कुनै समस्या छैन । तर, दुई नेतामा पुगेर अड्किएको हलोका कारण संसदको मेला अलपत्र परेको छ ।