रोचक खवर

विदेशी फौज फिर्ता पठाउने प्रस्ताव इराकी संसदद्वारा पास

बगदाद । इराकी संसदले त्यहाँ रहेका सबै विदेशी सैन्य फौजलाई देश छाड्ने गरी प्रस्ताव पारित गरेको छ।

इराकमा इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानीलाई शुक्रबार अमेरिकाले मारेसँगै इराकी संसदले यस्तो प्रस्ताव पारित गरेको हो ।

इरान र अमेरिकाको द्धन्द्धको शिकार इराक बन्न थालेपछि इराकले यस्तो प्रस्ताव पास गरेको हो ।

राजधानी बगदादमा सुलेमानीलाई ड्रोन आक्रमण गरि अमेरिकाले मारेको थियो । इराकमा अहिले पाँच हजार अमेरिकी सेना तैनाथ छन् ।

संसदले आफ्नो सरकारसँग विदेशी सैन्यबललाई इराकको भूमि, हवाइ र जलक्षेत्र प्रयोगमा समेत रोक लगाउन आदेश गरेको छ ।

इराकमा अमेरिकाले गरिरहेको सबै प्रकारको सैन्य सहयोग समेत बन्द गरी फिर्ता पठाउन सरकारलाई संसदले आदेश दिएको छ ।

इराकी संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदी समेत जतिसक्दो चाँडो इराकबाट विदेशी सैनिक हटाउनुपर्ने मतमा आफू रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री महदीले मुलुक भित्र वा बाहिरका समस्या आफै हल गर्ने भन्दै त्यसमा विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने उनको भनाई छ ।

इराकमा उनी केवल कार्यबाहक प्रधानमन्त्रीको रुपमा कार्यरत छन । सरकार विरोधी प्रदर्शनपछि उनले राजिनामा गरेका हुने ।

प्रधानमन्त्री महदीले इरानी सैन्य कमान्डर सुलेमानीको हत्या राजनीतिक विषय भएको उल्लेख गरेका छन् ।

इराकबाट सेना फिर्ता लैजाने घोषणा राष्टपति बाराक ओबामाले नै गरेका थिए । तर, अझै पूर्ण रुपमा कार्यान्वयन भएको छैन ।

यो प्रस्तावलाई प्रधानमन्त्रीले सदर गरपछि कानूनको रुप लिन्छ । त्यसपछि इराकमा अमेरिकासहित विश्वका अन्य मुलुकका सेना रहनु गैरकानूनी मानिनेछ ।