समाचार

आज रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिको भेला

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा मनोमानी गरेको भन्दै असन्तुष्ट रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुको भेला आज काठमाडौंमा आयोजना हुदैछ ।

सभापति देउवालाई सहमतिका लागि दबाब दिन जिल्ला सभापतिहरूको भेला आयोजना गर्न लागिएको पौडेल पक्षधर नेताहरुले बताएका छन् ।

देउवाले पार्टीमा एकपक्षीय रूपमा निर्णय गर्दै लोकतान्त्रिक पार्टीकै धज्जी उडाएको पौडेल पक्षधरको आरोप छ ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भेला आयोजना हुँदैछ । भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला समूह पनि सहभागी हुने तयारी रहेको छ ।

देउवाले ११ पुसमा बहुमतबाट महाधिवेशनको कार्यतालिका तोक्दै आफ्नो कार्यकाल एक वर्ष थपेका थिए ।

साथै विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय समेत उनले गरेका थिए ।

यस निर्णयको विपक्षमा पौडेल र सिटौला पक्षका नेता रहेका छन् ।