स्वास्थ्य

रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु

अर्जुनप्रसाद मैनाली
विश्व रक्तदाता

मैले सन् १९८५ र ८६ तिर कलेजमा ‘द ब्लड डोनर’ भन्ने पाठ पढेको थिएँ ।त्यो पाठमा एक जना अमेरिकी रक्तदाता थोमसले आफ्नो रगत दिएर धेरैलाई बचाएको मर्मस्पर्शी अभिव्यक्ति थियो ।मानव शरिरमा रगत समुहको नाम पनि हुन्छ भन्ने थाहा पाएपछि मेरो शरिरमा कुन समुहको रगत होला भन्ने लाग्यो । सन् १९८७ अगष्ट २० को दिन म घुम्दै काठमाडौंको विशालबजार पुगेको थिए । त्यहाँ रक्तदान कार्यक्रम रहेछ । त्यही मैले पहिलोपटक वास्तविक रक्तदान देखें । र मैले पनि १९ बर्षको उमेरमा एक पोका रगत दान गरें । ब्लड बैँकबाट एक हप्तापछि रक्तदाता कार्डमा रगत समुह ‘ओ पोजेटिभ’ भएको पाएँ ।

त्यसपछि म समय निकालेर हप्ता वा महिनामा एक पटक जसो रक्तसंचार सेवा केन्द्र पुग्न थाले । त्यहाँ बिरामीको उपचार गर्नका लागि रगतको खोजीमा आएकाहरुको भीड हुन्थ्यो । एक दिन ब्लड बैँकका कर्मचारीले विरामी श्रीमतीलाई बचाउनका लागि एक पटक मात्र भए पनि आफ्नो रगत दिनुहोस भन्दा श्रीमानले कमजोरी पो हुने हो कि भन्ने डरले रगत दिएनन    यही घटनाले मेरो मन छोयो । त्यस्तो स्थितिदेखेपछि मैले रगत जरुरी पर्नेहरुका लागि नियमित रुपमा रक्तदान गरिरहने सोचें र प्रण गरें, ‘म जरुरी पर्ने जो कोहीलाई रगत दिन्छु ।‘ 

रक्तदानको अभियानलाई निरन्तरता दिन र अझ ब्यापक रुपमा विस्तार गर्न सन् १९८९ मा नेपालमा ब्लड डोनर्स क्लब स्थापना गर्यौं    मैले संस्थापक सदस्यका हैसियतले धेरै काम गरेँ । आज त्यही संस्था ‘ब्लड डोनर्स एसोसिएसन नेपाल’ नामले परिचित छ ।

रगतको आवश्यकता त नेपालको राजधानी काठमाण्डौमा मात्र  होइन । अस्पताल भएका विश्वका जुनसूकै स्थानमा पनि रगतको खाँचो उत्तिकै टड्कारो थियो । रगतको जोहो गर्नु आम नागरिकहरुको कर्तब्य होजस्तो लाग्यो । रक्तदानको महत्व प्रचार–प्रसार गर्नाले समुदाय र असहायका लागि सहयोग हुन्छ भन्ने भावनामा दृढ हुदै गएँ । त्यही दृढताले आम जनमानसमा रक्तदानका लागि उत्प्रेरित गराउन आवश्यक ठानेर मैलेसन १९९० डिसेम्बर ५ मा ३१ दिनसम्म लगातार नेपाल अधिराज्यव्यापी साइकल यात्रा मार्फत प्रचार प्रसार गरेँ ।

सन् १९९१ फेबु्रअरी २३ सम्ममा मैले १७ औं पटक रक्तदान गरी सकेको थिएँ । सन् १९९१ जुलाइपछि साथीभाईहरुले मलाई एउटा रक्तदाता मात्रमा सिमित रहन दिनु भएन् । लगातार चार पदावधि लियो जिल्लापरिषद, जिल्ला ३२५ मा रक्तदान समितिको संयोजक र त्यसपछि लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५ मा रक्तदान कमिटिको सभापतिको जिम्मेवारी सुम्पिए । ती संस्थाहरुमा रहँदाको अवधिमा मैले हरेकलायन्स, लियो क्लबको नियमित भ्रमण गर्थे । स्थानीय सामाजिक संघसंस्थाहरुसँग लायन्स क्लबलाई समन्वय गराई रक्तदान कार्यक्रम राख्थे । काठमाण्डौ उपत्यकाका विद्यालयहरुमा रक्तदानप्रति उत्प्रेरणाकार्यक्रम सञ्चालन गरेँ । म स्वंम र सिङ्गै संस्थाका लागि यो गौरवको विषय थियो ।

रक्तदानप्रति उत्प्रेरणा जगाउने अभियान छोटै समयमा स्थापित भईसकेको थियो । विभिन्न गतिविधि वारे नेपालको राष्ट्रिय समाचार पत्र गोरखापत्र मै समाचार छापिएपछि त मेरो चौतर्फी चर्चा चल्न थाल्यो । यस क्रममा मैले आफ्नो बेग्लै परिचय बन्न थालेको महसुस गर्न थाले । छरछिमेक तथा टोल र बिभिन्न संस्थाका मानिसहरु मेरो नामलाई रक्तदानको पर्यायवाचीठान्न थालेका थिए । टोलमा कोही बिरामीलाईरगत चाहिँदा अर्जुनलाई भेटे अवश्य पनि रगतको ब्यवस्था हुन सक्छ भन्थे । पछिपछि त घरमै रगत खोजी माग्न आउनेको संख्या बढ्न थालेको थियो । अफिसमा पनि रगतका लागि त्यत्ति नै फोन आउथे । लायन्सक्लबमा सबैलाई थाहा भएकाले मलाई नै बढी सम्पर्क गरिएको मेरो अनुमान थियो ।

अमेरिकामा पहिलो पटक मर्सी अस्पताल, स्प्रिङफिल्डको ब्लड बैंकमा फेब्रुअरी ५,२००१मा ५०औं पटक रक्तदान गरे । अमेरिकामा बार्षिक ३० मिलिएन ब्लड कम्पोनेण्ट चाहिने गरेको कुरा समेत थाहा भयो ।अस्पताल जाने सात जना बिरामीहरु मध्ये एक जनालाई रगत नै संचार गर्नुपर्ने विभिन्न वेभसाइट तथा रक्तदान सम्बन्धी पर्चाहरुबाट जानकारी पाए । उक्त मागलाई म एक्लैले के नै गर्न सक्थे र ? तर पनि मैले नियमित रुपले रक्तदान गर्दै गएँ ।

सन् २००४ मा सेन्टरिच, न्युयोर्कबाट रक्तदान गर्न ह्वाईट प्लेन्स सिटी, न्युयोर्क सिटी गई रहन्थे । ती सिटीहरुमा आवतजावत गर्दा ज्याक्सन हाइट तिर पनि घुम्न जाने गर्थे । भेटेका जति नेपाली मित्रहरुलाई आफ्नो अनुकुल भएको समयमा एक पटक मात्र भए पनि रक्तदान गर्नका लागि अनुरोध गर्थे । 

नेपालदेखि नै रक्तदानको महत्व आफुले प्रत्यक्ष रुपमा बुझेको र जानेको हुनाले बिस्तारै–बिस्तारै अमेरिकामा बसोवास गर्ने नेपाली समुदायमा पनि रक्तदानका बारेमा जनचेतना जगाउन थाले । सम्भावित रक्तदाता र त्यहाँका ब्लड सेन्टर बीच पुलको भूमिका निर्वाह गने प्रयत्न गर्न थालेँ ।