समाचार

मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज

काठमाडौं । मध्यपूर्व तनावले प्रभावित हुने मुलुकमध्ये एक नेपालले समस्या समाधानमा शान्तीपूर्ण बाटो अपनाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

खासगरी ठूलो संख्यामा नेपाली कामदार रहेको र नेपाली सेना समेत तैनाथी रहेको स्थानमा उत्पन्न परिस्थितिका सम्बन्धमा नेपालले बिहीबार औपचारिक धारणा सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिका र इरानबीच उत्पन्न तनाव चिन्तापूर्ण रहेको बताएको हो ।

मन्त्रालयले त्यस क्षेत्रमा ठूलो संख्यामा कार्यरत नेपाली आप्रवासीको सुरक्षा मुलुकको प्राथमिकतामा रहेको बताएको छ ।

‘हामी सबै पक्षहरुलाई यस क्षेत्रमा तनाव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरामा पार्ने खालका काम–कारबाही नगर्न आह्वान गर्छौ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल सरकारले सबै प्रकारका विवाद र मतभेदलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने नेपालको अडान रहेको उल्लेख गरेको छ ।

इरानी सैन्य कमाण्डर कसिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी मारिदिएपछि इरानले बदला लिने बताएको छ ।

यही क्रममा इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण समेत गरेको छ । यसरी दुई देशबीचको तनावका बीच नेपालले समेत चासो राखेको हो ।