समाचार

आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सम्झनामा विविध कार्यक्रम

काठमाडौं । नेपाल एकीकरणमार्फत टुक्रा टुक्रामा विभाजित राज्यलाई सिंगो मुलुक बनाएका राजा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ ।

गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ मा उनको जन्म भएको थियो ।

१८ वर्षको उमेरमै राजगद्दी सम्हालेका उनी त्यसपछि नेपाल एकिकरणको अभियानमा लागेका थिए ।

त्यसबेला नेपालमा बाइसे र चौबिसे राज्यहरु सक्रिय थिए । उनको यस अभियानलाई उनको मृत्युपछि छोरा बहादुर शाहले समेत निरन्तरता दिएका थिए ।

सोहीकारण राज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्मातासमेत मानिन्छ । उनको जन्म दिनमा यसअघि राष्ट्रिय एकता दिवस भनी बिदा दिने प्रचलन थियो ।

तर, गणतान्त्रिक सरकारले यो बिदा कटौती गर्यो । गोरखाका केही स्थानीय तहले भने बिदा दिएका छन् ।

उनको जन्म दिनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले धुमधाम साथ मनाउँछ ।

नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजैका दिन सिंहदरबार अगाडि आइपुग्दै समापन गर्ने कार्यक्रम रहेको छ ।