समाचार

माटोको सम्मानमा बोल्नै नहुने, यो हुनुहुदैन : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले माटोको सम्मान र राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने परिपाटी मुलुकमा आउन नहुने बताएकाछन् ।

पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गरेका पूर्वराजा ज्ञानेन्द्रले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने समेत उल्लेख गरेका छन् ।

उनले परस्पर प्रेम, एकता र सद्भावमा लाग्न समेत देशबासीमा आह्वान गरेका छन् ।

जनमानसमा के छ, के भइरहेको छ भन्ने सबैमा स्पष्टै भएको भन्दै उनले राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने प्रयास कतैबाट हुन नहुने उल्लेख गरेका छन् ।

नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्नेमा समेत पूर्व राजाको जोड रहेको छ ।

देशको सबै भूभागको रक्षा र नेपाली जनताको समृद्धिका लागि गहकिलो प्रयास आवश्यक रहेको समेत उनको शुभकामना सन्देशमा राखिएको छ ।

पृथ्वीनारायणबाट शुरु भएको शाहवंशिय शासन सत्ता ज्ञानेन्द्रको पालामै आएर टुंगिएको हो ।