विज्ञान प्रविधि

फोहोरबाट विजुली झिक्न युएईद्वारा नेपाललाई १ अर्ब १३ करोड ऋण

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ करोड डलर (१ अर्ब १३ करोड) ऋण दिने भएको छ । शहरी फोहोरबाट विजुली उत्पादन गर्न यो रकम उपयोग गरिने भएको हो ।

अबुधावीमा विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभा चलिरहेको छ । सभामा नेपालका तर्फबाट उर्जा मन्त्री वर्षमान पुनले भाग लिइरहेका छन् ।

अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत नेपाललाई उक्त रकम दिने घोषणा सभामा भएको छ । मन्त्री पुनले सहयोग स्वीकार गरेको सभालाई जानकारी दिए ।

उनले सहुलियत कर्जा स्वीकार गर्दै नेपाललाई सहयोगका लागि छनोट गरेकामा धन्यवाद दिएका थिए ।

यो रकम विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालन गर्न र प्रांगारिक मल उत्पादनको प्रविधि जडानमा प्रयोग हुने भएको छ ।

यस सहयोग कार्यक्रमका लागि नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा सहुलियतका लागि छानिएका थिए ।