फिचर

सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र

न्यूयोर्क/अमेरिका
भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण बिरुद्ध संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि विरोध प्रदर्शन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभागहरु समेटेको विरोधमा गरिएको प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट समेत नेपालीहरुको उपस्थीति थियो ।
राष्ट्रसंघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा आयोजित कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग समेटेको नक्शा तुरुन्त सार्वजनिक गर्नुपर्ने बताए । संचारकर्मी प्रेम बानियाले भारतीय पक्षबाट भएको नेपाली सिमा अतिक्रमणबिरुद्ध विश्वभरका नेपालीहरुले आवाज उठाउनुपर्ने बताए । संचारकर्मी अनिल अधिकारीले भारतीय पक्षबाट नेपाली भूभाग अतिक्रमणविरुद्धको प्रदर्शनमा नेपालीहरुको सहभागिताले देशभक्ति प्रतिबिम्बित गरेको बताए । कार्यक्रममा गायिका सपना श्रीले राष्ट्रिय गीत गाएकी थिइन् भने गायक रामप्रसाद खनाल र कवयत्री शकुन ज्ञवालीको गीत र कविताले देशभक्तिपूर्ण माहौल श्रृजना गरेको थियो ।

 

कार्यक्रममा भारतीयपक्षबाट गरिएको सिमा अतिक्रमणको बिरुद्ध नाराबाजी गरिएको थियो । सहभागीहरुले भारतीय पक्षबाट आफ्नो नक्शामा समेटेको लिपुलेक, लिम्पियाधुरा र नेपालको नक्शासहितको टिसर्ट लगाएर बिभिन्न सन्देश बोकेका प्लेकार्ड बोकेका थिए ।
विरोध प्रदर्शनपछि संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटिरेजलाई प्रवक्तामार्फत ज्ञापनपत्र बुझाइएको थियो । भारतीय पक्षले सार्वजनिक गरेको नक्शामा नेपालको भूभाग समेटेकोमा त्यसलाई सच्याउने दिशामा सकारात्मक भूमिका खेल्न राष्ट्रसंघलाई आब्हान सहित ज्ञापनपत्र बुझाइएको हो । भारतले सार्वजनिक गरेको नक्शामा नेपाली भूभाग समेटेको सन्दर्भमा बुद्धिनारायण श्रेष्ठको बिष्लेषणसमेत ज्ञापनपत्रमा समेटिएको थियो । उक्त कार्यक्रम संचारकर्मीहरु प्रेम बानिया र अनिल अधिकारीको पहलमा गरिएको थियो ।