27-Jan-2020 | १३ माघ २०७६, सोमबार

रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु

२९ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


अर्जनप्रसाद मैनाली
विश्वरक्तदाता

रक्तदानको सिलसिलामा रमाईला क्षणहरु अक्सर आईरहन्छन् । एकपटक रक्तदानस्थलमा थुप्रै मानिसहरु भेला भएका थिए । कतिपयले “बिगतमा गरेका पापहरु रगत दान गरेर कसैको जीवन बचाउन सहयोग गरी सबै पाप पखाल्नु पर्यो” भनि ठट्टा गर्दै थिए । केही साथीहरु ‘मलाई त उच्च रक्तचाप छ, औषधी सेवन गरिरहेको छु,’ भन्दै रक्तदान गर्न मिल्दैन भन्दै थिए । कतिपय आफुलाई ब्लडसुगर र कोलेस्ट्रोल छ भन्दै आनाकानी गर्दै थिए । अझ एकजनाले ‘कसैको मुटुमा बास बस्न मन छ भने सबैभन्दा सजिलो उपाय भनेको रक्तदान गर्नु हो’ भनेर त्यहाँ उपस्थित भएकाहरुलाई हौसला प्रदान गर्दै थिए । आपसमा रमाइलो गर्दै, रक्तदान लेखिएको ब्यानर, रक्तदाताहरुको नाम लेखेको कपी, चिया पानी, खाजा, फलफूलहरु र प्रमुख अतिथिका लागि फूलका गुच्छाहरु ईत्यादी तयार थियो ।

उपस्थित मध्ये एकजनाले अर्जुन मैनालीबाटै आजको रक्तदान शुभारम्भ गरौं भन्ने प्रस्ताव गर्नु भयो । मैले इन्कार गर्ने कुरै थिएन् । हुन्छ भनें । स्वास्थ्य परिक्षण लगायत आधारभूत प्रकृया पुरा भएपछि मैले रक्तदान गरे । 

रक्तदान गर्नको लागि सम्भावित रक्तदाताहरु पालो कुर्दै लाइन लागेर बसेका थिए । त्यहाँको माहोल कुनै कार्यालयमा जागिरको अन्तर्वार्ताका लागि प्रतिक्षारतहरुको जस्तै थियो । स्वास्थ्य परिक्षणमा अनुतीर्ण भएकाहरु फर्किने बेला खिन्न देखिन्थे । त्यो पनि उनीहरु अर्को पटक रगत दान गर्न मिल्ने आश बोकेर फर्किरहेका थिए ।

त्यस दिन झन्डै १०० जना नेपालीहरु रगत दान गर्न तयार थिए । जम्मा ३९ जनाले रगत दान गर्न भ्याए । रक्तदान कार्यक्रम पश्चात त्यसै दिन रगत दान गर्ने सबैलाई सम्मान सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । यो घटना थियो, सेप्टेम्बर २५, २००८ मा न्युयोर्कको नेपाली समुदायमा किराँत याक्थुंग चुम्लुङ्ग संस्थाबाट पहिलो पटक संस्थागत रुपमा आयोजित रकतदानको ।

यसको पनि रमाईलो प्रसंग छ । रक्तदान आयोजना गर्न संस्था त तयार थियो तर रक्तदान कार्यक्रम आयोजना गर्नु त्यति सजिलो थिएन । पहिलो त कम्तिमा ३५ जना सम्भावित रक्तदाताहरुको नाम संकलन गर्नु थियो । अर्को कुरा करिब १२ सय स्क्वायर फिट क्षेत्रमा फैलिएको उज्यालो (बिजुली बत्ति) धारा, बाथरुम, वेसमेन्ट वा दोश्रो तल्लामा भए लिफ्टको सुबिधा भएको हल चाहिने रहेछ । उक्त हल खोज्दै म लंग आइल्याण्डदेखि करिब ५-६ पटक ज्याक्सन हाइट, उडसाइड, सन्नी साइड आदि स्थानहरुका स्कुल, चर्च, लाइब्रेरीमा पुगेँ । हामीलाई सार्वजनिक यातायातको सुबिधाको पहुँच भएको र दिनभरका लागि हल आवश्यक थियो । निशुल्क रुपमा चाहिने मापदण्ड अनुसारको हल पाउन सकेनौं । अन्त्यमा पैसै तिरेर भएपनि हल बुक गर्यौं ।

११ देखि ४ बजेसम्मको अवधिमा हरेक ५ मिनेटको फरकमा रक्तदान गर्नेहरुको नाम संकलन गरियो । रक्तदान कार्यक्रमको ब्यानर, रक्तदाताहरुको लागि सर्ट, प्रसंसा पत्र, खाजाको ब्यवस्था, रक्तदान कार्यक्रम स्थलको लागि स्वयंसेवकहरुको बन्दोवस्त पनि भयो । रेडक्रसका प्रतिनिधिहरुले रक्तदाताहरुको नाम लेख्ने ठाउँ, रक्तदाताहरुले रक्तदानका वारेमा सामान्य जान्नैपर्ने कुरा पढ्ने ठाउँ, स्वास्थ्य परिक्षण, रक्तदान गर्ने ठाउँ अनि रक्तदान गरी सकेपछि आराम गरेर खाजा खाने ठाउँ लगायत सबै तयारी पुरा भएपछि करिब १०:३० बजे तिर रगत दान गर्न नेपालीहरुको आउने क्रम सुरु हुन थाल्यो । आयोजक लगायत हामी सबै रमाउन थाल्यौं ।

त्यसपछि पनि अन्य संस्थाहरुलाई रक्तदानको लागि घच्घच्याईरहें । त्यसपछि अर्को रक्तदान कार्यक्रम नेपाली जन सम्पर्क समिति न्युयोर्कको आयोजनामा डिसेम्बर २८, २००८ मा सोही स्थानमा गर्ने सल्लाह गर्यौं । पछि-पछि अन्य बिभिन्न नेपाली संघसंस्थाहरुले समेत रक्तदानका कार्यक्रम आयोजना गर्न थाले । यसरी रक्तदान गर्न अभिप्रेरित गर्दै सम्भावित रक्तदाता र ब्लड डोनर सेन्टर बीच एक पुल बन्ने मेरो कोशिस सफल भएको अनुभव गरें । आज यहाँसम्म आईपुग्दा नेपाली समुदायमा रक्तदानलाई पुण्यकर्मको रुपमा लिन थालेका छन् । जन्मदिनको अवसरमा रगत दान गर्नेहरुमा मनग्य भेटिन थालेका छन् । यो सबै देख्दा मनैदेखि खुसी हुन्छु ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार