स्वास्थ्य

विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

काठमाडौं । विश्वकै होचा व्यक्तिका नाममा कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उनको शुक्रबार निधन भएको हो ।

उनी २८ वर्षका थिए । उनलाई परिवारले बिहीबार अस्पतालमा भर्ना गरेका थिए । उनको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

अस्पतालले शुक्रबार दिउँसो करिव ३ बजे उनलाई मृत घोषणा गरेको थियो । अस्पतालका अनुसार उनमा मुटुको समस्या देखिएको थियो ।

स्वासप्रस्वास, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यकभन्दा बढी हुने समस्याले उनलाई अस्वस्थ बनाएको र उपचारका क्रममा निधन भएको बताइएको छ ।

उनी बाग्लुङको धुल्लुवासकोट ६ का मा जन्मिएका हुन् । खगेन्द्रलाई २०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा कीर्तिमान लेखाइएको थियो ।

उनको उचाई ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च थियो । उनको शनिबार अन्तेष्टी गरिने भएको छ ।