Epapers :

18-Jul-2019 | २ साउन २०७६, बिहिबार

छायाँ

२१ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


पद्मा लिंखा मगर

न्यूयोर्क ।

 

विहानीको झुल्के घामसँगैको 

तिम्रो आगमनले म प्रफुल्लित थिएँ 

एकातिर किरण

अर्कोतिर तिमी 

आहा ! म कति भाग्यमानी ! 

सम्झें 

हो म जहाँ जान्छु तिम्रो साथ सधैं रहन्छ 

जब दिन चिप्लिंदै जान्छ 

घाम पनि मेरो टाउको नाप्ने क्रममा 

टुपितिर लम्किन्छ 

उही गतिमा तिमी 

खुम्चिन लाग्छौ 

मेरो मन कता कता सशंकित हुन्छ 

कतै तिमी मबाट टाढा भाग्ने त होइन ?

घामको किरणले मेरो कुरा बुझेझैँ 

टुपीबाट ढल्किंदै अर्कोतर्फ नाप्न लाग्छ 

तिमी पनि आश्वस्त पार्दै फेरि बढ्न थाल्छौ 

घामको किरण जब ढल्किंदै 

नम्बरी सुनसरी 

पहेंलपुर हुन्छ 

तिमी अझ धेरै बढ्दै 

मलाई साथ दिन्छौ 

जब सूर्यले आकाश नाप्दै 

फेरि लुकामारी खेलेझैं डाँडाबाट 

टुप्लुक्क चिप्लिन्छ 

तिमी मलाई छोडेर अलप हुन्छौ 

तिमीले मलाई देखाएको आशा 

अनायास हराएर जान्छ 

हो म एक्लो हुन्छु 

फगत एक्लो 

मेरो साथमा न सूर्यको किरण छ 

न त तिमी नै छौ

तर तिमीसित मेरो कुनै गुनासो छैन 

मसँग किरण थियो र त तिमी थियौ 

रात छ र न दिनको महत्त्व छ 

दिन र रात त सिक्काका दुई पाटा हुन्

एउटाबिना अर्कोको अस्तित्व नै रहँदैन 

फेरि जब विहानी हुन्छ 

किरण मेरो साथमा फर्किनेछ 

तिमी पनि उसैगरी फर्किनेछौ 

म तिम्रो प्रतिक्षामा रहनेछु 

केवल तिम्रो आगमनको प्रतिक्षामा

सूर्यको किरण पर्खिरहनेछु 

म सूर्यको किरण पर्खिरहनेछु l

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार