समाचार

अमेरिकाको भर्जिनियामा बन्दुकसम्बन्धी र्‍यालीमा हिँसाको आशंकामा आपत्‌काल घोषणा गरियो

बन्दुक राख्न पाउने अधिकारको समर्थनमा अमेरिकाको भर्जिनिया राज्यको रिचमन्ड शहरमा हजारौँ मानिस सोमवार एउटा वार्षिक र्‍यालीमा सहभागी हुने अपेक्षा गरिएको छ।उक्त र्‍याली हिंसात्मक हुन सक्ने राज्यका अधिकारीहरूको आशङ्का छ।

गभर्नर राल्फ नर्थमले भर्जिनियामा आपत्‌कालीन अवस्थाको घोषणा गर्दै संसद्‌ भवन वरिपरिका क्षेत्रमा गोलीगट्ठाको प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्।

तर बन्दुक राख्न पाउने नियम हुँदाहुँदै नियन्त्रण गर्ने कैयौँ विधेयक ज्यानुअरीमा पारित गरिएपछि सो अभियानका पक्षधरहरू क्रुद्ध बनेका छन्।

बन्दुक राख्न पाउने अधिकारको समर्थक समूह द भर्जिनिया सिटिजन्स डिफेन्स लीगले आयोजना गर्न लागेको र्‍यालीमा ५० हजार मानिसहरू सहभागी हुने अपेक्षा गरिएको छ।

छिमेकी राज्यहरूबाट भर्जिनिआ जाने बसहरूको टिकट सप्ताहान्तअघि नै विक्री भइसकेको विवरणमा जनाइएको छ।

सशस्त्र मिलिसिआ, दक्षिणपन्थी अतिवादी र स्थानीय एन्टिफा अथवा एन्टिफासिस्ट मुभमेन्टसहितका समूहहरू पनि ‍र्‍यालीमा सहभागी हुने अपेक्षा गरिएको छ।

सन् २०१७ मा शार्लट्सभिलमा भएको हिंसात्मक झडपमा सहभागी द पेनसिलभेनिआ लाइट फूट मिलिसिआको नेतृत्व गरेका क्रिस्टिआन यिङ्गलिङले ‍र्‍यालीमा ठूलो सहभागिता हुने आफ्नो विश्वास रहेको बताएको बि बि सिले जनाएको छ । बि बि सिका अनुसार क्रिस्टिआन ले भनेका छँन् “म धेरै मानिस सहभागी भएको हेर्न चाहन्छु।”

“सामाजिक सञ्जालहरूमा भइरहेका चर्चाबाट मैले थाहा पाए अनुसार टेक्सस र इलिनोईलगायत धेरै टाढादेखि मिलिसिआजस्ता थुप्रै मानिस आउँदैछन्।”

र्‍याली शान्तिपूर्ण हुने आफ्नो आशा रहे पनि त्यस्तो नहुने आफूलाई डर रहेको क्रिस्टिआनको भनाइ छ।

“मलाई लाग्छ नराम्रो हुन सक्ने सम्भावना धेरै नै छ,”उनले थपे।

विभिन्न मिलिसिआ समूहमा आबद्ध मानिसहरू रणनीति बनाउन र बन्दुक राख्न पाउने अधिकारलाई भर्जिनिआमा जोखिम बढेको विषयमा कुरा गर्न रिचमन्डदेखि २० माइल टाढा रहेको एउटा सामुदायिक भवनमा आइतवार राति भेला भएका छन्।

द भर्जिनिआ सिटिजन्स डिफेन्स लीगका संस्थापक मध्येका एक ग्रेग ट्रोजनले राज्यबाट कति मानिस आएको भनेर सोध्दा आधा जतिले हात उठाएका थिए।

बैठकमा सहभागी अधिकांशले सोमवारको र्‍याली शान्तिपूर्ण हुने बताए पनि केहीले हिंसाको आशङ्का गरे।

ओक्लोहोमाको एउटा मिलिसिआ समूहका टामी लीले भने, “एकदमै आक्रोशित मानिसहरू आइरहेका छन्। थुप्रै अशिक्षित मानिसहरू आइरहेका छन्।”

“म गलत होऊँ भन्ने कामना गर्छ, तर त्यस्तो होला जस्त मलाई लाग्दैन।”

( यो समाचार बि बि सि नेपालीबाट सभार गरिएको हो )