समाचार

१२ माघमा सभामुख निर्वाचन, उपभामुखले दिइन् राजिनामा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनको मिति १२ माघमा राखिएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकले उक्त दिनका लागि निर्वाचनको मिति तय गरेको हो । सोमबार जेष्ठ सदस्य महन्थ ठाकुरले बैठक संचालन गरेका थिए ।

ठाकुरले मिति तोकेलगत्तै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

सभामुखको उम्मेदवारी दर्ताको समय मंगलबार राखिएको छ । नेकपाले अग्नी सापकोटालाई आफ्नो उमेद्वार बनाएको छ ।

उनी निर्वाचित हुने पक्का छ । १५ असोजयता सभामुख पद खाली थियो । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेपछि उनले राजिनामा गरेका हुन् ।

यसैबीच, उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सोमबार नै राजीनामा गरेकी छिन् ।

उनको राजिनामा सँगै सापकोटालाई सभामुख हुने बाटो समेत खुलेको हो ।

संविधान अनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन पाइदैन । अर्कोतर्फ महिला र पुरुष फरक फरक पदमा हुनुपर्छ ।