फिचर

न्यूयोर्कमा मगरहरुको ‘माघे सक्रान्ती’

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
अमेरिकाको न्यूयोेर्कमा बस्दै आएका मगरहरुले आफ्नो कला र संस्कृति झल्काउँदै माघे सक्रान्ती मनाएका छन् । यसलाई मकर सक्रान्ती पनि भन्ने गरिन्छ । मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा आइतबार मगर समुदायको राष्ट्रिय पर्वको रुपमा रहेको माघे सक्रान्ती मनाइएको हो ।
हिन्दु परम्परा अनुसार माघ १ गतेलाई माघे सक्रान्तीको रुपमा मनाइदै आएको छ । त्यस दिन घिउ, चाकु, तरुल लगायत मिठो मसिनो पकाएर खाने चलन छ । मगर जातीहरुका लागि त यो एउटा बिशेष महत्वपूर्ण चाड हो ।

अमेरिकामा बसोबास गर्दै आएका मगरहरुले सन् २०१३ बाट धुमधामका साथ माघे सक्रान्ती मनाउन थालेका हुन् । बि.सं २०६५ सालमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माघे सक्रान्तीलाई मगरहरुको राष्ट्रिय पर्वको रुपमा घोषणा गरेका थिए । त्यस यता नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म छरिएर रहेका मगरहरुले बिशेष रुपमा मनाउन थाले । ‘यो मुलुकमा मात्रै सिमित रहेन अहिले त बिश्वभर छरिएर रहेका मगरहरुले निकै धुमधामका साथ मनाउन थालेका छन्’ मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप रानामगरले भने, ‘अमेरिकामा पनि बिभिन्न राज्यहरुमा माघे सक्रान्ती मनाइरहेका छौं ।’
खासगरी माघ महिनाको १ गते मनाउनु पर्ने भएपनि सबैको सुबिदालाई बिचार गरेर माघे सक्रान्तीकै पेरिफेरिमा शनिबार÷आइतबार पारेर कार्यक्रम गरिदै आएको उनले जानकारी दिए । आइतबारको कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा दोहोरी गीतका साथै भुम्या नाच (झाँकी नाच), कौडा, सालैजो, सोरठी, गाउँबेसी लोकदोहोरी, हुर्रा नाँच लगायत मौलिक संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गायक जगदिश समाल, मुना थापा, टिका पुन, राजेश थापा लगायतले गीत सुनाएका थिए भने स्थानीय मगर समुदायका युवायुवतीले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रमुख अमृतबहादुर राई, एनआरएनए एनसीसीका उपाध्यक्ष बाबुराम लामा, नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, फिप्नाका सदस्य संस्थाहरुका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु लगायत न्यूयोर्क, न्युजर्सी, पेन्सिलभेनिया, कनेक्टिकट राज्यहरुबाट आएका दर्शकहरुको सहभागीता थियो । कार्यक्रममा सहभागीहरुलाई मगर परिकारहरु खुवाइएको थियो । मगरको टिपिकल परिकारहरु बंगुरको मासु, तरुल, बटुक, सेलरोटी लगायतको ब्यवस्था गरिएको थियो ।
न्यूयोर्कमा मात्र होइन, मगर संघ अमेरिका केन्द्रिय समिति अन्तरगत च्याप्टर समितिले बिभिन्न राज्यहरुमा माघे सक्रान्ती मनाइरहेको छ । यसअघि नै टेक्सास, न्यूजर्सी, बोस्टन, कोलोराडो, क्यालिफोर्नियामा माघे सक्रान्ती सम्पन्न भइसकेको छ । आगामी जनवरी २५ मा बाल्टिमोर मनाउन लागेको पनि अध्यक्ष रानामगरले जानकारी दिए ।
मकर सक्रान्तीमा सबै मगरहरु भेला हुने, बिशेष गरी चेली पुज्ने, धनुषबाँण हान्ने, पुजापाठ गर्ने, पृतिहरुलाई पानी चढाउने, भँुमीलाई पुजा गरेर प्रकृतिलाई खुसी बनाउने, जसले गर्दा अन्न बाली राम्रो हुने, बस्तु भाउ फस्टाउँछन् भन्ने चलन रहिआएको छ । ‘यस पर्वले मगरहरु आफ्नो धर्म र प्रकृतिको पुजक हो भन्ने सन्देश पनि दिएको छ’ उनले भने, ‘पश्चिमको रुकुम रोल्पा र धौलागिरी क्षेत्रमा धनुषबाँण हान्ने र पूर्व तिर छेलो हान्ने, माघे सक्रान्तीका दिन भलिबल खेल्ने चलन पनि स्थापित हुँदै आएको छ ।’