स्वास्थ्य

दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु

काठमाडौं । भारतको केरेलाबाट नेपाल भ्रमणमा आएका ८ पर्यटकको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा निधन भएको छ ।

उनीहरु भारतको केरलाबाट १५ जनाको समूहमा आएका थिए । पोखरा, काठमाडौं हुँदै दामनमा बसेर उनीहरु स्वदेश फर्कने क्रममा रहेको बेला यस्तो घटना भएको हो ।

प्रहरीका अनुसार मंगलबार राती सुतेका उनीहरु एउटै कोठामा थिए । दुई परिवारका बाबु, आमा र छोराछोरीको हिटरका कारण निसास्सिएर निधन भएको हो ।

उनीहरु बिहान ८ बजेसम्म पनि नउठेपछि रिसार्टका कर्मचारी उठाउन पुगेका थिए । तर, ढोका नखोलेपछि कर्मचारीले ढोका खोलेका थिए ।

ढोका खोल्दा ८ जना नै अचेत अवस्थामा थिए । त्यसपछि कर्मचारीले प्रहरीलाई बोलाएका थिए ।

प्रहरी पुगेपछि काठमाडौंबाट हेलिकोप्टर बोलाइएको थियो । त्यतिन्जेल निकै ढिला भइसकेको थियो ।

काठमाडौं पुर्याउनासाथ उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए । दामन अत्यधिक चिसो स्थान हो ।

राती हिटर बालेर सबै झ्याल ढोका थुनेर सुतेका कारण अक्सिजनको कमीले निस्सासिएर उनीहरुको ज्यान गएको बताइएको छ ।

घटनामा ४ पुरुष र ४ महिला छन् । उनीहरुमध्ये पनि ४ जना भने बालबालिका हुन् ।

मृत्यु हुनेमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीय बालक अभि, ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीया बद्रा रहेका छन् ।