स्वास्थ्य

रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन

काठमाडौं । सरकारले मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा एउटै कोठामा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ ।

मंगलबार यस्तो घटना भएको हो । उनीहरुको मृत्युको कारण हिटर बालेर झ्याल ढोका थुनेका कारण निसास्सिएर भएको बताइएको छ ।

घटनामा रिसोर्टको तर्फबाट के कस्तो कमजोरी भएको हो या होइन ?, रिसोर्टमा मापदण्ड पुगेको वा नपुगेको, सुरक्षात्मक प्रवन्ध भए या नभएको ?

व्यवस्थापकीय कमजोरी भएको वा अन्य के कारणले यो घटना भएको हो भन्नेबारे छानविन गर्न सरकारले समिति गठन गरेको पर्यटन विभागले उल्लेख गरेको छ ।

छानविन समितिको संयोजकको भूमिका पर्यटन विभाग होटेल शाखाका निर्देशकलाई दिइएको छ । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, प्रहरी, होटेल संघ नेपालका प्रतिनिधि तोकिएका छन् ।

विभागका होटेल शाखाका अधिकृतले सदस्यसचिवको भूमिका निर्वाह गर्नेछन् ।

समितिले आगामी दिनमा यस्ता दूर्घटना नदोहोरिन के गर्नुपर्छ भन्ने बारे पनि सिफारिस गर्नेछ । यस घटनाले अन्तरराष्ट्रिय पर्यटन बजारमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ ।