बिचार

साग समापनपछि उब्जिएका अनुत्तरित प्रश्नहरु

प्रशान्त उप्रेती / फ्रान्स

१३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्य अनि सभ्य रुपमा सम्पन्न भएको छ । प्राकृतिक बिपत्ती खेपेपछि पटक पटक मिति परिवर्तन गरेर भएपनि नेपाल प्रतियोगिता आयोजना गर्न सफल भएको छ ।

यो महान खेलकुद उत्सव सुरु हुने नहुने कल्पना परि-कल्पना बीच चर्चा-परिचर्चालाई छिचोल्दै इतिहासकै एक गर्व गर्न लायक अनिस्मरणीय भएकोमा कसैको दिई मत छ जस्तो लाग्दैन् । नेपाली टोली दक्षिण एसियाली खेलकुद इतिहासमा सबैभन्दा बढी स्वर्ण पदक जित्न यो पटक सफल भएको छ ।

१३ औं सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जित्दै दोश्रो बन्न सफल भएको छ । १७४ स्वर्ण सहित भारतपहिलो बनेको हो । १२ औं सागमा नेपाल ३ स्वर्ण, २३ रजत र ३४  कास्य गरी ६० पदक मात्रै जितेको नेपालले १३ औं सागमा अर्धसतक भन्दा बढी स्वर्णजितेर दोस्रो बन्दै उत्कृष्ट नतिजा आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

अघिल्ला संस्करणहरुमा जस्तै धेरै प्राबिधिक त्रुटी, खेल सामग्री नहुनु, पोशाक समयमा उपलब्ध नहुनु, आवस्यक पुर्बाधार, पुर्ब तयारीअनि खेलाडी छनौटमा भेदभाव भने नभएका होइनन् तर पनि प्राप्त सफलतालाई भने कम आँक्न मिल्दैन् । जब जब प्रतियोगिता आउँछ तब तब बल्ल देशले खेलाडीलाई सम्झिन्छ । होइन भने हामी र सहिद एक्कै हो भन्ने एक पूर्व रास्ट्रियखेलाडीको भनाइ सही हो भन्ने तथ्य आफैमा पुष्टी भएको छ ।

यो एतिहासिक सफलताका पछाडिका रहस्य खोतल्न रहर जागेको छ । दुर्भाग्यको कुरा आफ्ना भविष्य, ज्यान अनि प्राणसम्म दाउमाराखेर जिबन नै खेल अनि राष्ट्रका लागि समर्पण गर्ने यी सबै खेलाडीहरुको त्यागलाई किन राज्यले उचित लगानी, संरक्षण,भत्ता, तलबअनि अन्य सुबिधा दिन नसकेको ?

घर परिवारले पढेर मात्र सफलता हात पर्ने अनि खेल खेलेर भबिस्य बिग्रने मानसिकता कहिले परिबर्तन होला त् ? जितमा सारा राष्ट्र एक हुने मेडल खेलाडीको गर्धनमा पुग्दा नपुग्दै खेलाडीलाई  बिर्सने पुर्ख्यौली रोगले हामीलाई कहिले छाड्ला त ?

प्रसव पिडामा रहेकी श्रीमतीलाई अस्पतालका सैयामा छोडी राष्ट्रको गौरब अनि सानका लागि खेल्ने ती खेलाडीको पिडालाई कसलेबुझ्ने ? खाडीका ५० डिग्रीको तातो हावामा आफ्ना पसिना बेच्दै सन्तानको देशलाई पदक जिताउने रहरमा कहिलेसम्म ति बुबा आमाले आफ्नाजीवन सस्तो मुल्यमा बेच्ने त ?

प्रतिस्पर्धी खेलाडीले दिएको खेल सामग्री लिएर कहिलेसम्म खेल्नु पर्ने त ? च्यातिएको जुत्ता, नपड्किने बन्दुक, खियाले  खिएको साइकल कहिलेसम्म अन्तर्रास्ट्रिय प्रतियोगितामा प्रयोग गर्नु पर्ने त ? सामान्य भ्रमणका लागि हेलिकोप्टरमा जिल्ला जिल्ला डुल्ने नेताज्युहरु, घाइते खेलाडी कहिलेसम्म काठमाडौँको ट्राफिक जामकोसमाप्ति कुर्दै अस्पताल पुग्ने त ?

राष्ट्रका लागि जितेको मेडल अनि भित्तामा झुन्ड्याएको प्रमाण पत्रले मात्रै कहिलेसम्म खेलाडीको नाम बोक्ने त् ? आफु घाइते भएपनि कति समयसम्म परिवारलाई ढाटेर बस्नु पर्ने त ?

जितेको प्रमाणपत्र अनि मेडलले पेटभरि खान नदिए पछि आफ्ना रहर, त्याग, समर्पणलाई  गंगामा बगाई कहिलेसम्म आफुलाई अरबका  तातो भुमीमा सस्तो मुल्यमा बेचिनु पर्ने त् ? गौरिकाले ४ स्वर्ण पदक जित्दा उनी नेपाली होइन भने कहिलेसम्म उनी गैर आवासीय नेपालीको दर्जा दिने त् ? राज्य प्रतियोगिता सकिएपछि खेलाडीलाई चिने नचिनेको अनि देखे-नदेखेको जस्तो गरि कहिलेसम्म भाग्ने त ?

एकपटक सामुहिक सम्मान अनि नगद पुरस्कार दिएर आफ्नो दायित्वबाट सरकार आफ्नो कर्तब्य बोध गरेको भ्रम पाल्ने त ? प्रतियोगिताको समापनसंगै प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर गरिने एउटा भब्य रात्री भोजमा सामेल भएर कति दिन भोक भोकै अभ्यास गर्नु पर्ने त् ? शारीरिक चोट पटक अनि हारको पिडाले बेहोर्न पर्ने मानसिक पिडाको लेखाजोखा कसले गर्ने त ?

खेल राष्ट्रका लागि खेल्ने भएपछि राष्ट्रिय खेलाडीहरुको अभिभावक राज्य अनि सरकार  नै हो । खेलाडीको फितलो प्रस्तुति रहेको भएत्यतिबेला सरकारमाथि नै प्रश्न उठ्थ्यो । अनि खेलकुद परिषद माथि पनि । सरकारले खेलाडीको तयारी राम्रो नगराएर उनीहरुले खेल्ननसकेको आरोप लाग्थ्यो नै । तर यो पटक केही हदसम्म सुधारिएको प्रदर्शन दिन नेपाली खेलकुद टोली सफल भएको छ । यस उपलब्धिको बधाईको हकदार सरकारपनि हो । हतार हतारमा भएपनि पुर्बाधार निर्माण गर्नु, निर्णय गर्ने जिम्मा लिएर बसेका खेलकुद परिषदका उच्च पदस्त कर्मचारीको कार्यशैलीमा व्यवसायिकता देखिएकोले यो महान उत्सव सफल भएको हो ।

उदघाटन अनि समापन समारोहको भब्यताले  नेपालले आफूलाई ठुला प्रतियोगिता आयोजना गर्न हामी सबल राष्ट्रको दर्जामा उभ्याएकोछ । दुवै समारोहमा प्रस्तुत गरिएका सांस्कृतिक झाँकी र आतिसवाजीले कार्यक्रमलाई भव्य बनायो । खासगरी आधुनिक प्रबिधि ब्लेजरलाइट र ड्रोनबाट गरिएको प्रयोग हेर्दा कुनै बिदेशी भुमिमा गरिएको अन्तर्राष्ट्रिय प्रतियोगिताको झल्को दिरहेको थियो ।

अनुत्तरित एउटा प्रश्नको जवाफ खेलाडीको त्याग, समपर्ण, मेहनतको उचित कदर कहिले होला त् ? अर्को प्रतियोगिता नआउन्जेल सहिदलाई बिर्सेको जस्तै खेलाडीहरुलाई हामीले बिर्सने परम्पराको अन्त्य कहिले होला ? आशा गरौं परिबर्तनको सुरुवात ढिलै भएपनिसुरु हुनेछ । बधाई छ, सम्पूर्ण नेपालीहरुलाई । अनि गर्व छ, नेपाली हुनुमा ।