फिचर

एनआरएनएसँगको सहकार्यमा १० विमानस्थलको सरसफाई अडिट गरिने

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको सहकार्यमा नेपालका १० विमानस्थलको सरसफाईबारे अडिट गर्ने भएको छ ।

नेपालका १० ठूला र अति व्यस्त रहने तराई भेगका विमानस्थलमा अहिले भइरहेको सरसफाईको अवस्थाबारे अडिट गरिन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

विमानस्थलहरुमा सरसफाईको मौजुदा अवस्थाबारे एक महिनासम्म स्थलगत अध्ययन गरी जानकारी लिने र प्राप्त सुझावका आधारमा आगामी दिनमा प्रभावकारी काम गर्ने उद्देश्य राखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यसका लागि गैरआवासीय नेपाली संघसँग समझदारीसमेत भएको छ ।

समझदारी अनुसार २० फागुनदेखि १९ चैत २०७६सम्म एक महिना विमानस्थलको स्थलगत अध्ययन भ्रमण गरी सरसफाईको अवस्थाबारे रिपोर्ट तयार हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्राष्ट्रिय)सहित विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, र भरतपुर विमानस्थलमा यस्तो अडिट हुनेछ ।

साथै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तराष्ट्रिय विमानस्थल, नेपालगन्ज विमानस्थल र धनगढी विमानस्थलको समेत सरसफाई अडिट हुने भएको छ । यसले भ्रमण वर्षलाई समेत सकारात्मक प्रभाव पर्ने सरकारको विश्वास छ ।