फिचर

नेपाल एयरलाइन्समा पाइलटको राजिनामा काण्ड

काठमाडौं । शुक्रबार बिहानै एक समाचार नेपाली संचारमाध्यममा भाइरल भयो,  ‘नेपाल एयरलाइन्सका २५ पाइलटले एकै साथ राजिनामा दिए, त्यसले अन्तरराष्ट्रिय उडान ठप्प हुने ।’

यो समाचार यस्तो बेला आयो, जहाँ भर्खरै नेपाल एयरलाइन्स नेतृत्वविहिन भएको थियो ।

सन् २०१९ मा सबैभन्दा धेरै यात्रु बोकेको एयरलाइन्स बन्दै नम्बर वान भएको नेपाल एयरलाइन्समा अचानक के भयो ? जसले गर्दा पाइलटले राजिनामा गरे ? बुझ्दा पत्ता लाग्यो, पाइलटले राजिनामा गरकै होइनन् ।

उनीहरुले व्यवस्थापनसँग माग राखेका छन् र त्यो पुरा गर्न तीन महिनाको समय सीमा दिइएको छ ।

त्यसमा उनीहरुको मूख्य माग नै आयकरवापत राज्यलाई ठूलो रकम बुझाउँदा व्यक्तिमाथि भार पर्यो ।

त्यसको साटो कर कम्पनीले नै तिरिदिओस भन्ने उनीहरुको अपेक्षा रहेको छ । त्यसबाहेक नेपाल एयरलाइन्समा विदेशी पाइलटको तुलनामा स्वदेशी पाइलटले कम तलव पाएको भन्दै त्यसमा पनि केही समायोजनको माग उनीहरुले गरेका छन् ।

विशुद्ध पेशागत हकहितका लागि गरेको मागलाई अतिरन्जित गरी बाहिर आएपछि भने पाइलटहरुले त्यसबाट पछाडी हट्दै नाम समेत फिर्ता लिइसकेका छन् ।

२५ जना पाइलटले हस्ताक्षर गरेको भनिएपनि त्यसबाट करीव आधा दर्जनले नाम फिर्ता लिएका छन् । नेपाल एयरलाइन्सका जहाज निरन्तर उड्नेछन् ।