समाचार

आज सोनाम ल्होसार मनाइदै, चीन जापान, मंगोलियालगायत देशमा नयाँ वर्ष

काठमाडौं । तामाङ समुदायको विशेष चाड सोनाम ल्होसार आज मनाइदैछ । २८५६ औं सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाउन लागिएको हो । यो पर्व हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन पर्छ ।

तामाङ समुदायमा घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने गरिन्छ ।

यस दिन एकै स्थानमा भेला भई मनोरञ्जनात्मक कार्यक्रममा रमाउने प्रचलन समेत रहेको छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि सुँगुर वर्ष सम्पन्न भएको छ भने मुसा वर्ष शुरु भएको छ ।

नेपालमा तामाङ, ह्योल्मो, थकाली जातीले यो पर्व मनाउँछन् ।

यसबाहेक चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत आज नयाँ वर्षको उत्सव मनाइदैछ ।